• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या


  • धनकुटा खबर
  • .

रौतहट, २९ असोज। भारतको बिहारस्थित आरा सहरमा क्षत्रीय महासभाका अध्यक्ष तथा अवकाशप्राप्त भन्सार अधिकृत रामकुमार सिंहको गोली हानी हत्या गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार नवादा थाना क्षेत्रअन्तर्गत जैन कलेज नजिकै बिहीबार बिहान मर्निङ वाकमा निस्किएका सिंहमाथि अज्ञात अपराधीहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। अपराधीहरूले उनीमाथि सातदेखि आठ राउन्डसम्म गोली चलाएको बताइएको छ।

बिहानै गोली चलेपछि उक्त क्षेत्र त्रसित बनेको थियो। घटनास्थलबाट प्रहरीले गोलीका ६ वटा खोका बरामद गरेको जनाइएको छ।

गोली लागेर गम्भीर घाइते भएका सिंहलाई स्थानीयले उपचारका लागि अस्पताल पुर्‍याएका थिए। तर, उपचारका क्रममा उनको मृत्यु भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

घटनापछि क्षत्रिय महासभासँग आबद्ध व्यक्तिहरू आक्रोशित बनेका छन्। केही महिनाअघि मात्रै भन्सार अधिकृतबाट अवकाश लिएका सिंह त्यसपछि महासभामा आबद्ध भएर सामाजिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका थिए।

घटनाको जानकारी पाएपछि स्थानीय प्रशासनले अनुसन्धान अघि बढाएको छ। हत्यामा संलग्न व्यक्तिको पहिचान, घटनाको कारण र त्यसमा संलग्नहरूको खोजी भइरहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖