सुर्खेत । आर्थिक रूपमा कमजोर प्रदेशका रूपमा चिनिने कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईको सम्पत्ति विवरण सार्वजनिक भएको छ। विवरणअनुसार उनी र उनकी श्रीमतीको नाममा सुनचाँदी, विभिन्न स्थानमा जग्गाजमिन, बैंक मौज्दात तथा २८ वटा कम्पनीमा सेयर लगानी रहेको छ।
गत भदौ ३ गते मन्त्री नियुक्त भएका पछाईको सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।
विवरणअनुसार मन्त्री पछाईसँग २० तोला सुन र ५० तोला चाँदी गरी कुल ७० तोला सुनचाँदी रहेको छ। तर, उक्त सुनचाँदीको स्रोत विवरणमा खुलाइएको छैन।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ घर भएका पछाईको परिवारका नाममा जुम्लादेखि बर्दियासम्म विभिन्न स्थानमा जग्गाजमिन रहेको विवरणमा उल्लेख छ। उनका बुबाको नाममा गाउँमा ६० र १२९ वर्गमिटर क्षेत्रफलका दुईवटा पुर्ख्यौली घर तथा विभिन्न २८ स्थानमा पुर्ख्यौली जग्गा रहेको छ। त्यस्तै, बर्दियाको राजापुर नगरपालिका–२ का तीन स्थानमा समेत जग्गाजमिन रहेको उल्लेख छ।
मन्त्री पछाई र उनकी श्रीमतीको नाममा विभिन्न बैंकमा गरी १२ लाख १५ हजार रुपैयाँ मौज्दात छ। त्यसैगरी, दम्पतीको नाममा २८ वटा कम्पनीमा कुल ४३ हजार ५४२ कित्ता सेयर रहेको छ। उनीहरूले त्रिशूली जलविद्युत् आयोजनामा समेत लगानी गरेका छन्।
सम्पदा लघुवित्तमा मात्रै पछाईको ७२ लाख ७३ हजार ७५६ रुपैयाँ बराबरको सेयर रहेको विवरणमा उल्लेख छ। यद्यपि, सबै कम्पनीमा रहेको सेयरको कुल बजार मूल्य विवरणमा स्पष्ट खुलाइएको छैन।
त्यस्तै, दम्पतीको नाममा नागरिक लगानी कोषमा ९ लाख १३ हजार ६६४ रुपैयाँ जम्मा रहेको छ। विभिन्न क्षेत्रमा लगानी तथा सम्पत्ति रहेको उल्लेख गरेका पछाईले आफ्नो नाममा कुनै ऋण नरहेको जनाएका छन्।
सवारीसाधनतर्फ पछाईको नाममा २ लाख ४० हजार रुपैयाँ मूल्यको बजाज मोटरसाइकल र श्रीमतीको नाममा २ लाख ८५ हजार रुपैयाँ मूल्यको स्कुटर रहेको छ। ती सवारीसाधन खरिदको स्रोतमा व्यक्तिगत आम्दानी र बैंकको जागिर उल्लेख गरिएको छ।
कृषि तथा अन्य सम्पत्तितर्फ जुम्लामा २०० बोट स्याउ, १५ बोट ओखर र एउटा गाई रहेको विवरणमा उल्लेख छ। त्यस्तै, उनीसँग दुई थान एप्पल मोबाइल र एउटा ल्यापटप रहेको जनाइएको छ।
सार्वजनिक सम्पत्ति विवरणले मन्त्री पछाईको परिवारको नाममा विभिन्न क्षेत्रमा सम्पत्ति तथा लगानी रहेको देखाए पनि सबै सम्पत्तिको कुल मूल्य र सुनचाँदीको स्रोतबारे भने थप विवरण खुलाइएको छैन।
