• Sunday 1st of November 2026

राजा फर्काउन के गर्ने ? गोकुल भन्छन्: प्लेन टिकट काट्दिनुस् पूर्वराजा जुलुस नगरिकन काठमाडौं फर्किहाल्छन्


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा राजसंस्था फर्किने कुनै सम्भावना नभएको जिकिर गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठका बोल्दै सांसद बास्कोटाले नेपालमा मरिसकेको राजसंस्था बौरिने सम्भावना नभएको बताएका हुन् ।

‘राजा ल्याउने भनेर एकथरी कराउने, संघर्ष चर्काउने भनेर अर्कोथरी कराउने । प्रतिशोध भयो भनेर अर्कोथरी ‘डे वान’ देखि कराउने । ठीकै हो, यो कराउने ठाउँ त हुँदै हो । पाइन्छ कराउन । यो के हो त ? सरकार मन नपर्न सक्छ, के प्रमुख प्रतिपक्षले लोकतन्त्रको विकल्प खोजेको हो ? दक्षिणपन्थी विचार बोक्ने र वामपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो ? सहमति त्यसमा हो ? याद गर्नु होला, त्यो चुल्होमा गणतन्त्र मास्ने, राजतन्त्र फर्काउने खिचडी एक पाक्दैन, दुई पाक्दैन, तीन पाक्दैन । सम्भव छैन । यो २१औं शताब्दी हो, के गर्न राजा फर्काउने ?’

पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका नेता बास्कोटाले राजा फर्काउछु भन्दै आन्दोलन गर्नेहरुलाई आन्दोलन छाड्न आग्रह गरेका छन् । पोखरामा रहेका पूर्व राजालाई ध्यानमा राखेर हालै राप्रपाले गरेको आन्दोलनप्रति इंगित गर्दै बास्कोटाले पोखरामा रहेका पूर्व राजा ज्ञानेन्द्रलाई काठमाडौंमा आउन कुनै आन्दोलन गर्न नपर्ने बताए । उनले प्लेन टिकट काटिदिएमा पूर्व राजा आफैं काठमाडौं आउने टिप्पणी गरे ।

‘यो २१ औं शताब्दी हो, के गर्न राजा फर्काउने? केका लागि राजतन्त्र फर्काउने? के पाइन्छ? राजा फर्काउन पोखरामा जुलुस गर्न पर्छ?,’ उनले भने, ‘धेरै गर्न पर्दैन, एउटा प्लेन टिकट काट्दिनुस् पूर्वराजा जुलुस नगरिकन काठमाडौं फर्किहाल्छन् नि। केलाई दु:ख गर्ने? फर्किने भनेको काठमाडौं त होला नि। सिंहासनमा त सम्भव छैन। सम्भवै छैन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖