• Saturday 31st of October 2026

राणा शासन र पञ्चायतमा समेत मिडियामाथि नभएको ज्यादती बालेन सरकारमा भयाे : सूर्य थापा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिएका छन्।

अदालतको पक्राउ पुर्जीबिनै सरकारले नाटकीय ढंगले सञ्चारमाध्यममाथि ज्यादती गरेको उनको आरोप छ।

सनिवार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले राणा शासन, पञ्चायतकाल र निरंकुश राजतन्त्रको समयमा समेत सञ्चारमाध्यममाथि यस्तो व्यवहार नभएको दाबी गरे।

‘यस्तो ज्यादती जहानियाँ राणा शासन, पञ्चायतकाल र निरंकुश राजतन्त्रको कालमा पनि भएको थिएन। राणा कालमा पनि प्रक्रिया पूरा गरेर गर्थे,’ उनले भने।

निरंकुश शासन व्यवस्थामा समेत प्रक्रिया पूरा गर्ने गरिएको उल्लेख गर्दै उनले जनमत प्राप्त लोकतान्त्रिक सरकारबाट सञ्चारमाध्यममाथि यस्तो व्यवहार हुनु विडम्बनापूर्ण भएको टिप्पणी गरे।

सरकार गठन भएको सात महिना बितिसक्दा पनि सरकारी सञ्चारमाध्यमलाई बेवास्ता गरिएको आरोप लगाउँदै थापाले प्रधानमन्त्री बालेन शाहको सञ्चारमाध्यमप्रतिको बुझाइप्रति समेत प्रश्न उठाए।

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ उनले भने ।

उनले सञ्चारमाध्यममाथि गरिएको दुर्व्यवहारप्रति प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसमेत गरेका छन्।

थापाले सरकारको यस्तो गतिविधिले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने भन्दै सरकारको कार्यशैलीप्रति आलोचना गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖