• Sunday 1st of November 2026

राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेकपा एमाले नवपुँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको र माओवादी केन्द्रले जनताको विश्वास गुमाएको टिप्पणी गरेका छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा अध्यक्ष महतोले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमालेले प्रारम्भमा उत्पीडित जाति वर्गको प्रतिनिधित्व गर्ने दाबी गरे पनि अहिले पूँजीवाद र अवसरवादको मिश्रणमा फसिसकेको टिप्पणी गरेका छन् । उनले एमाले सैद्धान्तिक रुपमा विचलनको अवस्थामा रहेको र स्पष्ट नीति निर्माण गर्न असफल भइसकेको दाबी गरेका छन् ।

साथै, विश्वमै कम्युनिष्ट विचारधारा असफल सिद्ध भइसकेको अध्यक्ष महतोको दाबी छ । असफल विचार धाराबाट अलग भइसकेर एमाले सबैभन्दा बढी अवसरवादी बनिरसकेको उनले आरोप छ । साथै, एमालेले आफ्नो अस्तित्व जोगाउन जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने उनको टिप्पणी छ ।

उनले भनेका छन्- 

एमालेले प्रारम्भमा उत्पीडित जाति वर्गको प्रतिनिधित्व गर्ने दाबी गरे पनि हाल यो नवपूँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको पार्टी बनेको छ । सैद्धान्तिक विचलन: कम्युनिस्ट वैचारिकताबाट टाढा रहेर पूँजीवाद र अवसरवादको मिश्रण भएको यो पार्टीले स्पष्ट नीति निर्माण गर्न असफल भएको छ । यद्दपी कम्युनिष्ट बिचारधारा नै बिश्वब्यापी रुपमा असफल सिद्ध भैसकेको छ । एक त असफल बिचारधारा अर्को उक्त विचारधाराबाट पनि अलग भएको हुदा यो गुठ सबै भन्दा बढी अवसरवादी भएको छ ।

राजनीतिक अस्थिरता: अवसरवादी चरित्र प्रदर्शन गर्दै, आफ्नो अस्तित्व जोगाउन जुनसुकै सम्झौता गर्न पछि पर्दैन ।
उत्पीडित राष्ट्रियताप्रतिको दृष्टिकोण: संविधान सभा र राज्यविहीन राष्ट्रका मुद्दामा नकारात्मक भूमिका खेलेपछि, यस पार्टीभित्र रहेका उत्पीडित राष्ट्रियताका नेता-कार्यकर्ताले सम्बन्ध बिच्छेद गरेका छन् । त्यो सम्भावना अझै
ब्यापक छ ।

निष्कर्ष: हाल यो पार्टी स्वदेशी जनताको अधिकारलाई दबाउने र राष्ट्रिय मुक्तिको आन्दोलनलाई समाप्त पार्ने दिशामा अग्रसर छ । एमाले, आफ्नो अस्थिर र अवसरवादी नीतिका कारण, राष्ट्रिय मुक्तिको लागि सबैभन्दा खतरनाक शक्ति हो। यसलाई प्रमुख प्रतिश्पर्धी शक्तिको रूपमा चिन्हित गर्दै, यसको प्रतिरोधमा विशेष ध्यान दिन आवश्यक छ ।

त्यस्तै महतोले माओवादी केन्द्रले अहिले जनताको विश्वास गुमाएको बताएका छन् । माओवादीले वर्ग संघर्ष र राष्ट्रिय मुक्तिलाई समाहित गर्ने प्रयास गरेको थियो भन्दै जनयुद्धबाट आएको माओवादी हेटौंडा महाधिवेशनपछि यो पार्टी निम्नपूँजिवादी संशोधनवाद मा फस्दै गएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्: 

२०५२ सालबाट जनयुद्ध सुरु गर्दै तत्कालीन नेकपा (माओवादी) ले वर्ग संघर्ष र राष्ट्रिय मुक्तिलाई समाहित गर्ने प्रयास गरेको थियो । यो दलले प्रचण्डपथ को माध्यमबाट २१औं शताब्दीको जनवादलाई नेपाली सन्दर्भमा संश्लेषण गर्दै जनयुद्धलाई उच्चतम स्तरसम्म पुऱ्यायो । तर, हेटौंडा महाधिवेशनपछि यो पार्टी निम्नपूँजिवादी संशोधनवाद मा फस्दै गयो ।

जनयुद्धको ऐतिहासिक भूमिका: २०५९ सालसम्म जनयुद्धले देशभित्र र बाहिर जनसमर्थन बटुल्दै ठूलो प्रभाव पारेको थियो । राष्ट्रिय/जातीय मुक्तिका सवाल जनयुद्ध ताका अत्याधिक उठाए पनि अन्तरिम संबिधान निर्माण बखत ति सबै मुद्धाको बिसर्जन गर्न पुगे भने २०७२ को संबिधान निर्माण ताका यो प्रचण्ड आफै पनि दाहाल मात्रै बने । सारा मुद्धाहरुको बिसर्जन गरे । पछी त झन् पार्टी नेतृत्वले सत्तास्वार्थका लागि जनयुद्धका बलिदानहरूलाई केवल उपयोगी औजार का रूपमा प्रयोग गन्यो ।

वर्तमान अवस्था: प्रचण्ड र बाबुरामको नेतृत्वले १७,००० युवाहरूको बलिदानलाई प्रयोगको रूपमा हेर्न थालेपछि पार्टीप्रति उत्पीडित जाति-वर्गका जनताहरूको विश्वास गुमेको छ । यो पार्टी अहिले वर्ग संघर्ष र राष्ट्रिय मुक्तिको कुनै पनि पक्षलाई निष्कर्षमा पुऱ्याउने इच्छाशक्ति वा क्षमता राख्दैन । माओवादी केन्द्रले सत्तास्वार्थको लागि अवसरवाद अपनाउँदै आफ्ना आदर्शहरूलाई त्यागेको छ । यसले उत्पीडित जनताको विश्वास गुमाउँदै गएको छ र राष्ट्रिय मुक्तिको आन्दोलनलाई झन् कमजोर बनाएको छ । यो पार्टीमा राष्ट्रिय मुक्ति हुन्छ कि भनेर लागेकाहरु छोडदै गएका छन् जुन भविष्यमा अझै बढ्दै जाने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖