• Sunday 4th of October 2026

फेरि रोकियो सुनिता विलियम्सलाई अन्तरिक्षबाट फिर्ता ल्याउने योजना, २८० दिनदेखि अलपत्र


  • धनकुटा खबर
  • .

एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट अन्तरिक्ष यात्री सुनिता विलियम्स र बैरी बुच विल्मोरलाई फिर्ता ल्याउने काम रोकिएको छ । नासा र स्पेसएक्सले मिलेर उनीहरूको फिर्ती मिसन क्रू-१० सञ्चालन गरिरहेका छन्।

बीबीसीका अनुसार यी अन्तरिक्ष यात्रीहरूको फिर्तीका लागि फाल्कन-९ लाई अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिनुपर्ने थियो, तर यसमा केही हाइड्रोलिक समस्या देखा परेसँगै बुधबार यसको प्रक्षेपण स्थगित गरिएको छ।

फक्स न्यूजका अनुसार, स्टारलाइनरले आईएसएसमा डकिङ गर्दा हिलियम लिक र स्पेसक्राफ्टका रिएक्शन कन्ट्रोल थ्रस्टरहरूमा समस्या देखिएको थियो।

नासाका अनुसार, प्रक्षेपणको अर्को सम्भावित मिति मार्च १५, बिहान ५:११ बजे (नेपाली समयअनुसार) हुन सक्छ।

स्पेसएक्सले भने अहिलेसम्म आफ्नो मेसिनमा देखिएको समस्या कहिलेसम्म समाधान हुन्छ भन्ने स्पष्ट पारेको छैन ।

फाल्कन-९ ले चार नयाँ अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा लगेर त्यहाँबाट सुनिता विलियम्स र बैरी बुच विल्मोरलाई फिर्ता ल्याउने जिम्मेवारी छ ।

दुवै यात्रीहरूले ५ जुन २०२४ मा यस परीक्षण मिसनका लागि स्टारलाइनर अन्तरिक्ष यानबाट उडान भरेका थिए। यसरी २८० दिनदेखि अलपत्र उनीहरू आठ दिनपछि नै फर्कनुपर्ने थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउने जिम्मेवारी एलन मस्कलाई सुम्पेका छन्।
स्टारलाइनर अन्तरिक्ष यान आईएसएसको नजिक पुग्दा त्यसमा समस्या देखा परेको थियो। यानलाई दिशा दिने पाँच थ्रस्टरहरू बन्द भएको बताइएको छ।

६१ वर्षीय विल्मोर र ५८ वर्षीया सुनितालाई बोइङ स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसम्म पुर्‍याएको थियो। यो मानिसहरू सवार भएको आफ्नो किसिमको पहिलो उडान थियो।

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बैरी बुच विल्मोरको फिर्ती १९ र २० मार्चमा हुने सम्भावना थियो, तर मिसनलाई अगाडि बढाएपछि यो मिति पनि परिवर्तन हुन सक्छ।

मस्कलाई जिम्मेवारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउने जिम्मेवारी एलन मस्कलाई सुम्पेका छन्।

ट्रम्पले जनवरीमा सामाजिक सञ्जालमार्फत लेखेका थिए, ‘मैले मस्कलाई ती दुई बहादुर अन्तरिक्ष यात्रीलाई सुरक्षित फिर्ता ल्याउन आग्रह गरेको छु। बाइडेन प्रशासनले उनीहरूलाई अन्तरिक्षमा छोडिदिएको छ। उनीहरू महिनौँदेखि अन्तरिक्ष केन्द्रमा प्रतीक्षा गरिरहेका छन्। मस्क चाँडै नै यस काममा लाग्नेछन्। आशा गरौं, सबै सुरक्षित हुनेछन्।’

यसको जवाफमा मस्कले लेखेका थिए, ‘हामी यसै गर्नेछौं। बाइडेन प्रशासनले उनीहरूलाई यति लामो समयसम्म त्यहाँ छोड्नु भयानक कुरा हो।’

सुनिता र विलमोरलाई किन पठाइयो अन्तरिक्ष केन्द्र ?

बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ अन्तर्गत सुनिता विलियम्स र बुच विलमोर अन्तरिक्ष केन्द्र (आईएसएस) मा गएका थिए। सुनिता स्पेसक्राफ्टको पाइलट थिइन् भने बुच विलमोर कमान्डर थिए। उनीहरू ८ दिनमात्र अन्तरिक्ष केन्द्रमा बस्ने योजना थियो।

स्पेसक्राफ्टको सफल परीक्षणका लागि यो मिसन सुरु गरिएको थियो। बोइङ डिफेन्स, स्पेस एन्ड सेक्युरिटीका सीईओ टेड कोलबर्टले यो मिसनलाई अन्तरिक्ष अनुसन्धानको ‘नयाँ युगको सुरुवात’ भनेर व्याख्या गरेका थिए।

यस मिसन अन्तर्गत स्पेसक्राफ्टलाई अन्तरिक्ष यात्रीसहित अन्तरिक्ष केन्द्रमा पुर्‍याएर सुरक्षित फिर्ता ल्याउन सकिन्छ वा सकिँदैन भन्ने परीक्षण गर्नुपर्दथ्यो। अन्तरिक्ष केन्द्रमा उनीहरूले अनुसन्धान र अन्य प्रयोगहरू पनि गर्नुपर्ने थियो।

कसरी फसे उनीहरू ?

स्टारलाइनर स्पेसक्राफ्टमा सुरुदेखि नै समस्या देखिएको थियो। यसैले जुन ५ भन्दा अघि पनि यसको लन्च बारम्बार स्थगित गरिएको थियो।

लन्चपछि पनि स्पेसक्राफ्टमा विभिन्न समस्या देखा परे।

नासाका अनुसार, स्पेसक्राफ्टको सर्भिस मोड्युलको थ्रस्टरमा सानो हिलियम लिक देखियो। २५ दिनको अवधिमा स्पेसक्राफ्टको क्याप्सुलमा ५ वटा हिलियम लिक देखिएका थिए भने ५ थ्रस्टरहरू काम गर्न छोडेका थिए ।

नासाका अनुसार एक प्रोपेलेन्ट भल्भ पूर्ण रूपमा बन्द हुन सकेको थिएन । नासा र मिसन कन्ट्रोल टिमले यसलाई ठीक गर्ने प्रयास गरे, तर सफल हुन सकेनन्। अहिले स्पेसएक्सलाई नै यी अन्तरिक्ष यात्रीलाई सुरक्षित रूपमा पृथ्वीमा ल्याउने जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖