एजेन्सी । बेलायतीहरुले तेश्रो विश्वयुद्धको आशंकालाई लिएर तयारी सुरु गरेका छन् । जसका कारण बेलायतमा बाँच्ने तालिम ((सर्भाइबल ट्रेनिङ) को माग ७५ प्रतिशतले बढेको छ ।
बेलायतमा मानिसहरुले तेश्रो विश्वयुद्धको जोखिमबाट बँच्नका लागि आफूलाई तयार पारिरहेका छन् ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आणविक बमको एक स्विच थिच्दा हुनसक्ने सम्भावित सर्वनाशकारी विस्फोटबाट आफूलाई बँचाउनका लागि बेलायतीहरुले लामो समयसम्मको खानेकुराको आपूर्तिका साथै कठीन वातावरणका लागि लत्ताकपडा पनि जम्मा गरिरहेका छन् ।
पसलेहरुका अनुसार बेलायतमा वर्षाको पानीलाई पिउन योग्य बनाई शुद्धीकरण गर्ने मेसिनहरुको माग बढेको छ, जसका कारण बजारमा अभाव देखिएको छ । साथै यदि ताजा खाद्य आपूर्ति हुन नसकेमा फ्रिज गरिएका तथा सुकाइएका खाद्य पदार्थहरु पनि बजारमा सकिने अवस्था सिर्जना भएको छ । बजारमा २५ वर्षसम्मलाई चल्ने मासुका डिब्बा, सैन्य स्वासयन्त्र तथा खाद्यान्नका प्याकेटहरु पसलबाट रित्तिइरहेका छन् ।
जंगलमा जीवित रहने कला सिकाउने बुसक्राफ्ट कोर्समा भर्ना हुने मानिसहरुको संख्यामा पछिल्लो २ वर्षमा ७५ प्रतिशतको वृद्धिदर देखिएको छ । इस्ट एंग्लियास्थित ‘ब्याक टु वाइल्डरनेस लर्निङ’का संस्थापक रे चिनका अनुसार मानिसहरु वास्तवमा आधारभूत कौशलहरु जस्तै विनाकुनै उपकरण केवल काठलाई एकापसमा रगडेर कसरी आगो बाल्ने भन्ने लगायतका प्राचीन ज्ञान तथा सीपहरु सिक्ने कोसिस गरिरहेका छन् ।
