• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

नेपालमै जब बुबाले छोरीलाई करणी गरेको भिडिओ आफ्नो गुगल ड्राइभमा राखे…


  • धनकुटा खबर
  • .

काठमाडौं । केही दिनअघि अमेरिकाको ‘नेसनल सेन्टर फर मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेन’ (नेकमेक) ले नेपालको साइबर ब्युरोलाई एउटा सूचना पठायो । नेकमेक भनेको हराएका तथा जोखिममा परेका बालबालिकाको हकहितका लागि काम गर्ने संस्था हो ।

नेपालका एक व्यक्तिको गुगल ड्राइभमा बालिकालाई करणी गरेको भिडिओ अपलोड पत्ता लगाएको थियो । भिडिओमा देखिएकी बालिका समस्यामा परेको पहिचान गर्दै नेकमेकले ब्युरोलाई साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ मार्फत उक्त सूचना पठाएको थियो । त्यस घटनालाई प्रमाणित गर्ने कागजात आरोपीको मोबाइल नम्बर, जिमेल अकाउन्ट जस्ता विवरण पाएपछि साइबर ब्युरोको टोलीले विस्तृत अनुसन्धान थाल्यो ।

त्यस क्रममा उक्त मोबाइल नम्बर र जिमेल अकाउन्ट वीरगञ्जका व्यक्तिले चलाएको फेला पार्‍यो । र, इन्सपेक्टर नेतृत्वको टोली २२ चैतमा वीरगञ्ज पुग्यो ।

“हामीले त पहिले ती व्यक्तिले अरूको भिडिओ आफ्नो ड्राइभमा राखेका होलान् भन्ने अनुमान गरेका थियौं,” टेकपानासँग कुरा गर्दै जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले भने, “तर, हामीले ती व्यक्तिलाई पक्राउ गरेपछि जे कल्पना गरेका थिएनौं त्यही देखियो ।”

वास्तवमा करणी गर्ने बालिकाका सौतेनी बुबा थिए । यो प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको तथ्य हो ।

“मुस्लिम समुदायका रहेछन् । नाबालिकाको जन्मदर्ता नै बनाएको रहेनछ । कतिबेला आफ्नै छोरी भन्छन्, कतिबेला अरूको छोरी पालेको भन्छन्, कतिबेला श्रीमतीको पूर्वपतिको छोरी भन्छन्, आमाले पनि वास्तविक कुरा भनेकी छैनन् । हामी काउन्सिलिङ गरिरहेका छौं,” प्रहरी नायब उपरीक्षक लम्सालले थपे ।

नाबालिकालाई उद्धार गरी प्रहरीले सुरक्षित राखेको प्रहरी नायब उपरीक्षक लम्सालले सुनाए । नाबालिकाको तर्फबाट जाहेरी दिने कोही नभएपछि प्रहरीले आफैले जाहेरी दिएर थप अनुसन्धान गरिरहेको छ । बुबा नाता पर्ने आरोपी व्यक्तिले नाबालिकालाई करणी गरेको भिडिओ खिचेर फोनमा राखेको र उक्त भिडिओ स्वतः गुगल फोटोजमा भण्डारण भएपछि नेकमेकको सिस्टमले पहिचान गरेको बताइएको छ ।

आरोपी व्यक्तिलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी जिप्रका पर्साको हिरासतमा राखेर दुई ओटा कसुरमा अनुसन्धान भइरहेको छ । एउटा करणी सम्बन्धी कसुर र अर्को विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आरोपित युवकमाथि अनुसन्धान भइरहेको छ ।-टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖