काठमाडौं । भारतले आफ्ना विमानस्थल र बन्दरगाहमार्फत बंगलादेशमा आउजाउ हुने सामानमा प्रतिबन्ध लगाउने निर्णय लिएको छ। शुक्रबार भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको सूचनामा बंगलादेशका लागि भारत हुँदै गरिने कार्गो ट्रान्जिट अब प्रतिबन्धित हुने उल्लेख गरिएको छ।
भारतीय मिडिया इन्डिया टुडे का अनुसार यो निर्णय बंगलादेशी प्रधानमन्त्री युनुसद्वारा भारतको उत्तरपूर्वी क्षेत्रसम्बन्धी दिइएको विवादास्पद टिप्पणीपछि आएको हो। रिपोर्टअनुसार युनुसको अभिव्यक्ति चीनको प्रभावमा प्रेरित भएको भारतको ठहर छ।
चीनको हालैको औपचारिक भ्रमणमा रहेका युनुसले केही दिनअघि थाइल्याण्डको बैंककमा आयोजित बिम्स्टेक सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पहिलोपटक भेट गरेका थिए। तर, भेटपछि दुई देशबीच सम्बन्ध सहज हुने आशाको विपरित भारतले तत्कालै कडा कदम चालेको छ।
भारतको यो निर्णयले बंगलादेशले तेस्रो मुलुकसँग गर्न लागेको व्यापारमा गम्भीर असर पार्ने देखिएको छ। विशेषगरी भारत हुँदै तेस्रो मुलुकमा सामान ओसारपसार गर्दै आएको बंगलादेशका लागि यो एक प्रकारको ट्रान्जिट नाकाबन्दीसरह हुनेछ।
