• Monday 5th of October 2026

सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश


  • धनकुटा खबर
  • .

मुम्बई । बलिउड अभिनेता सलमान खानलाई फेरि एक पटक ज्यान मार्ने धम्की आएको छ। एक अज्ञात व्यक्तिले मुम्बईको वरलीस्थित यातायात विभागलाई व्हाट्सएप सन्देश पठाएका छन्, जसमा सलमान खानको कारलाई बमले उडाउने धम्की दिइएको हो।

आइतबार राति अबेर पठाइएको यो सन्देशमा लेखिएको छ- हामी सलमान खानको घरमा पस्नेछौँ र उनलाई मार्नेछौं। मुम्बईको वरली प्रहरीले अज्ञात व्यक्तिविरुद्ध भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३५१(२)(३) अन्तर्गत उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको छ।

गत वर्ष अप्रिल १४ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोलाबारी भएको थियो। लरेन्स विश्नोई ग्याङले यो आक्रमणको जिम्मेवारी लिएको थियो।

यस घटनामा प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो। यी मध्ये एक अभियुक्तले आत्महत्या गरेका छन्।

लरेन्स ग्याङबाट निरन्तर प्राप्त भइरहेको धम्कीबारे सलमान खानले हालै पहिलो पटक आफ्नो मौनता तोडेका थिए। फिल्म ‘सिकन्दर’ को पत्रकार सम्मेलनमा अभिनेताले भने, ‘जबसम्म भगवान र अल्लाहले मेरो लागि लेख्नुभएको छ, म पक्कै बाँच्नेछु।’

सन् २०२३ मा लरेन्स ग्याङबाट धम्की आएपछि सलमानको सुरक्षा बढाइएको छ। महाराष्ट्र सरकारले उनलाई वाई प्लस श्रेणीको सुरक्षा प्रदान गरेको छ। ११ जना सिपाहीहरू सधैँ सँगै रहन्छन्, जसमा एक वा दुई कमाण्डो र २ जना पीएसओ पनि पर्छन्।

सलमानको कारलाई अगाडि र पछाडि एस्कर्ट गर्न सधैँ दुईवटा गाडी हुन्छन्। यसका साथै सलमानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ छ।

जनवरीमा ग्यालेक्सी अपार्टमेन्टमा भएको गोलाबारीपछि सलमानको अपार्टमेन्टको बाल्कोनीलाई बुलेटप्रुफ बनाइएको थियो। त्यस्तै चारैतिर उच्च रिजोल्युसन क्यामेराहरू जडान गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖