• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

शिक्षक आन्दोलनबाट फर्किरहेका प्रधानाध्यापक यसरी घर नपुग्दै अस्ताए


  • धनकुटा खबर
  • .

तनहुं । तनहुँको भानु नगरपालिका–१०, कालिमाटी (नेपालडाडाँ) मा शनिबार साँझ काठमाडौँबाट बेशी सहरतर्फ जाँदै गरेको माइक्रोबस र डुम्रेतर्फ गइरहेको स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा लमजुङ बेसीशहरकी ४० वर्षीया अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। स्कुटर चालक उनका श्रीमान् सुरेश श्रेष्ठ गम्भीर घाइते छन्।

माइक्रोबसमा सवार मनाङ नासोँ गाउँपालिका–८ का ४० वर्षीय मन घलेको उपचारका क्रममा एचडीसीएस नमुना सामुदायिक अस्पताल, सुन्दरबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ। घले हालै काठमाडौँमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर घर फर्किरहेका थिए। उनी जनविकास आधारभूत विद्यालय, नाँसो ताचैका प्रधानाध्यापक थिए।

दुर्घटनामा माइक्रोबसमा सवार १७ मध्ये ३ जनालाई गम्भीर अवस्थामा पोखरा र चितवन रिफर गरिएको छ भने अन्य ७ जनाको भोटेओडार अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीद्वारा माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको छ र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भोटेओडारले जानकारी दिएको छ। प्रारम्भिक विवरणअनुसार सवारीको गति तीव्र भएको र मोडमा नियन्त्रण गुमाएपछि दुर्घटना भएको आशंका गरिएको छ।

यो दुर्घटनाले न केवल दुई परिवारलाई शोकमा डुबाएको छ, तर शिक्षा क्षेत्रमा समर्पित एक प्रधानाध्यापकको असामयिक निधनले शिक्षा समुदायलाई समेत स्तब्ध बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖