• Friday 27th of November 2026

पूर्वमन्त्रीका नाति १३ लाख ७० हजार ठगी आरोपमा पक्राउ


  • धनकुटा खबर
  • .

सिरहा । पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीसम्बन्धी कसुरमा पक्राउ परेका छन्। करिब २५ वर्षीय यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मिर्चैया नगरपालिका–६ निवासी यादवले सोही ठाउँका गुलाम गौसलाई आमाको बिरामी भएको समस्या देखाउँदै पटक–पटक गरी १३ लाख ७० हजार ७५० रुपैयाँ ठगी गरेको आरोप छ। पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यादवले खल्ती एप, बैंक ट्रान्सफर तथा नगदमार्फत रकम लिएको र पटक–पटक फिर्ता माग्दा आजभोलि भन्दै आश्वासन दिए पनि रकम फिर्ता नगरेको जाहेरीमा उल्लेख छ।

उनीमाथि अन्य व्यक्तिहरूसँग पनि लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार यादवलाई पाँच दिनअघि पक्राउ गरिएको भए पनि पक्राउसम्बन्धी विवरण आफूलाई आज मात्रै प्राप्त भएको थियो।

प्रहरीले यादवविरुद्ध ठगीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ। यसैबीच, पक्राउबारे राजनीतिक दबाब परेको र उनलाई छुटाउन प्रयास भइरहेको स्रोतको दाबी भए पनि यसबारे आधिकारिक पुष्टि भएको छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖