• Thursday 29th of October 2026

सरकारबीच र शिक्षक महासंघबीच वार्ता जारी


  • धनकुटा खबर
  • .

काठमाडाैं। सरकार र आन्दोलनरत शिक्षकबीच आज वार्ता सुरू भएको छ। शनिवार बिहान शिक्षा तथा प्रविधि मन्त्रालयमा वार्ता सुरू भएकाे हाे।

वार्तामा सरकारकाे तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव दीपक काफ्ले र आन्दोलनरत नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी, नेपाल शिक्षक महासंघका सह अध्यक्ष तथा आन्दाेलन परिचालन समिति संयोजक नानुमाया पराजुली, महासचिव मदनराज जाेशी, महासचिव तुलाबहादुर थापालगायत सहभागी छन्।

वार्तालाई निर्णायक बनाउने गरी वार्ता हुने बताइएकाे छ।

हिजो दिउँसो ३ः०० बजे हुने भनिएको बार्ता अन्तिम समयमा आएर भाँडिएको थियो। आन्दोलनरत शिक्षक महासंघलाई नसोधी सिंहदरबार गेटमा २५ जनाको नाम मन्त्रालयले पठाएको भन्दै शिक्षकहरू बार्ता नगरी फर्किएका थिए।

मन्त्रालय आफैँले शिक्षकहरूको बार्ता टोली बनाएर सिंहदरबार प्रवेशको अनुमति नदिएको भन्दै आक्रोशित शिक्षकहरू सिंहदरबार गेटबाट फर्किए पछि हिजो हुने भनिएको बार्ता भाँडिन पुगेको थियो।

तर, शिक्षक महासंघले पठाउने आधिकारिक टोलीसँग मन्त्रालयले वार्ता गर्न तयार भए पछि आज बिहान बार्ता हुन लागेको हो।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघ निरन्तर आन्दोलन गरिरहेको छ। आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार २४औं पनि बिजुलीबजार क्षेत्रमा आन्दोलन जारी राखेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖