• Thursday 29th of October 2026

बिचौलिया इनम सापकोटाबारे समाचार आएपछि नेपाल प्रहरी चिन्तित, निकाल्यो विज्ञप्ति


  • धनकुटा खबर
  • .


काठमाडौं, १२ कात्तिक । बिचौलिया इनम सापकोटाका विषयमा सञ्चारमाध्यममा आएका गम्भीर समाचारलाई लिएर नेपाल प्रहरी चिन्तित भएको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेको र सूक्ष्म अनुसन्धान भइरहेका बेला बिहीबार नयाँ पत्रिका दैनिकलगायत केही अनलाइन मिडियामा समाचार आएपछि नेपाल प्रहरीले विज्ञप्ति नै जारी गरेको छ ।

हाल प्रहरी हिरासतमा रहेका इनम सापकोटा र न्यायाधीश हरि फुयाँलबीच भएको ह्वाट्सएप कुराकानीदेखि त्यहाँ उल्लेख भएका प्रधानमन्त्री र प्रधानन्यायाधीशको नामकै कारण प्रहरी तनावमा परेको छ । सरकार र सर्वोच्च अदालतले प्रहरीबाटै त्यस्तो कागजात मिडियामा पुगेको आशंका गरेपछि नेपाल प्रहरीले विज्ञप्ति निकाल्दै अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रतिवादीविरुद्ध समाचार प्रकाशन नगर्न थ्रेट दिइएको छ ।

‘जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको वादी नेपाल सरकार प्रतिवादी इनम सापकोटासमेत रहेको मुद्दासँग जोडी विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित समाचार तथा सामग्रीहरूमा अनुसन्धान अधिकारीलाई सूचनाको स्रोत सङ्केत गरी अनुसन्धानसँग सम्बन्धित विषयहरू सार्वजनिक गरिएको समाचार तथा सामग्रीहरूको सन्दर्भमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा छ, ‘प्रचलित कानुन, विधि, प्रक्रिया बमोजिम उक्त मुद्दाको अनुसन्धानका विषयवस्तुहरू गोप्य रूपमा अनुसन्धान भइरहेको अवस्थामा त्यस्ता संवेदनशील विषयका विवरण, प्रमाण, सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध गराइएको छैन । अनुसन्धानको निष्पक्षता, व्यावसायिकता तथा गोपनीयता कायम राख्न यस कार्यालय सदैव प्रतिबद्ध छ । अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थालाई पालना नगरेको खण्डमा कानुन बमोजिम हुने हुँदा मुद्दासँग सम्बन्धित सूचना एवं सामग्रीहरू सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भएकोले आधिकारिकता पुष्टि गर्न समेत अनुरोध गरिएको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖