भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) ले ४१ औं बटालियनका सिपाही मुनीर अहमदलाई बर्खास्त गरेको छ।
पाकिस्तानको सियालकोट निवासी मीनल खानसँग विवाह गरेको र भिसा नियम उल्लङ्घन गरी उनलाई भारतमा राखेको आरोपमा बर्खास्त गरिएको हो । दैनिक भास्करले सीआरपीएफलाई उदृधत गर्दै मुनीरको कार्यले सेवा आचरण र राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको भनेको छ।
मुनीर र मीनलले मे २०२४ मा अनलाइन विवाह गरेका थिए। मीनल मार्च २०२५ मा छोटो अवधिको भिसामा भारत आएकी थिइन्। उनले दीर्घकालीन भिसाको लागि आवेदन दिएकी थिइन्, जुन गृह मन्त्रालयमा विचाराधीन थियो। अप्रिल २२ मा पहलगाम आतंकवादी हमलापछि भारत सरकारले सबै पाकिस्तानी नागरिकको भिसा निलम्बन गर्यो। त्यसपछि मीनललाई देश छोड्न आदेश दिइयो।
मुनीरले मीनलको निर्वासन रोक्न जम्मूको भालवाल अदालतमा अपिल दायर गरेका थिए। अदालतको आदेशले मीनललाई तत्काल देश निकाला गर्न रोक लगाएको छ। तर यो विषय बाहिर आएपछि सीआरपीएफले छानबिन गरी मुनीरलाई बर्खास्त गरेको हो।
मीनललाई अप्रिल ३० मा पाकिस्तान फिर्ता पठाउने तयारी भइरहेको थियो। मीनलले आफूहरू निर्दोष रहेको भन्दै पहलगाम आतंकवाद घटनासँग कुनै सम्बन्ध नभएको दाबी गरेकी छिन्। उनले भिसा विस्तारको आवेदन समयमै दिएको र सरकारको निर्णयले श्रीमान्-श्रीमती अलग हुनुपरेको बताइन्।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै आतंकवादको नाममा निर्दोषलाई सजाय नदिन अनुरोध गरेकी छिन्। यो कार्य अमानवीय भएको उनको तर्क छ। मुनीरको परिवार जम्मू-कश्मीरको भालवाल नजिकैको हन्डवाल गाउँमा बस्छ। पहलगाम घटनाले भारतमा बिहे गरेका धेरै पाकिस्तानी महिलाहरू समस्यामा परेका छन्।
