काठमाडौँ । युवापुस्ताका चर्चित कमेडियन मेक्सम गौडेल दिल्लीको मेदान्त अस्पताल भर्ना भएका छन् । प्याङ्क्रियाजमा घाउ भएपछि उपचारका लागि उनी त्यहाँ भर्ना भएका हुन् । उनी अस्पताल भर्ना भएको कमेडियन सुमन कार्कीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
पहिलेदेखि उनले त्यहाँ फलोअप उपचार गराइरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनले गौडेलको स्वास्थ्यमा अहिले ठिक भएपनि फलोअपका लागि त्यहाँ पुगेको जानकारी दिए ।
गौडेल २ महिनादेखि प्याङ्क्रियाजको समस्याबाट पीडित छन् । यसअघि उनले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गराएका थिए ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोड गरेपछि उनी बिरामी भएका थिए । ‘कमेडी च्याम्पियन’बाट उदाएका गौडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरेका थिए ।
सुमन कार्की लगायत उनका सहकर्मी कमेडियनले सामाजिक संजालबाट गौडेलको स्वास्थ्य लाभको कामना गर्दै चाँडै स्टेजमा फर्किएको हेर्न चाहेको बताएका छन् ।
