काठमाडौँ । गायिका एलिना चौहानले शुक्रबार परेको आफ्नो जन्मदिनका अवसरमा मेहनती हातहरूलाई सहयोग गरेकी छन् । उनले राजधानीमा भेटिएका फलफूल बेच्ने, भारी बोकेर गुजारा गर्ने, मकै बेच्ने, बोतलको पानी बेच्नेहरूलाई सम्मानस्वरुप सहयोग गरेकी हु्न् ।
अधिकांशलाई आफूले हजार वा सो भन्दा बढी रकम सहयोग गरेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएकी छन् ।
यस्तै उनले धूप बेच्दै हिँड्ने दृष्टिविहीनलाई पनि सहयोग गरिन् । विगतमा आफूले जन्मदिनका अवसरमा आश्रममा गएर सहयोग गर्ने गरेपनि यो पटक फरक ढंगले मनाएको उनको भनाइ छ ।
‘अरुबेला म जन्मदिनमा आश्रम जाने गरेको थिएँ । जोजो माग्न बस्नुहुन्थ्यो उहाँहरुलाई सहयोग गर्थेँ पनि’, उनले भनिन्, ‘यसपालि अलि फरक तरिकाले जन्मदिन मनाएको छु ।’
आफू पनि कामलाई माया गर्ने मान्छे भएको उल्लेख गर्दै उनले त्यस्तै कामलाई माया गर्ने विशेषागरी मेहनती वृद्ध वृद्धालाई सहयोग गरेको बताइन् । त्यसका लागि एलिना शुक्रबार राजधानीका विभिन्न स्थानमा पुगेर उनीहरूको कामप्रति सम्मान व्प्यक्त गर्दै सहयोग गरेकी हुन् ।
मानवीय सहयोग पछि आफूले जन्मदिनकै अवसरमा बाँदरहरूलाई समेत केरा खुवाएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।
