काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पिकनिक गएर फर्किरहेका साथीहरूको समूहलाई अज्ञात बन्दुकधारीहरूले एम्बुसमा पारेर गोली हानी हत्या गरेका छन् ।
यस आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र एक जना घाइते भएको बताइएको छ । प्रहरीले आइतबार बताएअनुसार पीडितहरूमाथि शनिबार अबेर राति पेशावरबाट लगभग ६५ किलोमिटर दक्षिण–पश्चिममा रहेको कोहट जिल्लाको उपनगर रेगी शिनो खेलमा आक्रमण भएको थियो ।
पीडितहरू टान्डा बाँधबाट आफ्नो पैतृक गाउँ खारा घारी मुहम्मद जाई फर्किरहेका बेला आक्रमणकारीहरूले गोली चलाएका थिए । प्रहरी टोलीको सहयोगमा, उद्धार टोली ११२२ का अधिकारीहरूले शव र घाइतेहरूलाई कोहट जिल्ला मुख्यालय अस्पतालमा पुर्याएका थिए ।
घाइतेलाई पछि विशेष उपचारको लागि पेशावरको अस्पतालमा रिफर गरियो । प्रहरीले मृतक र घाइतेहरू सबै साथी भएको पुष्टि गरेको छ । आक्रमणकारीहरू घटनास्थलबाट भागेको अधिकारीहरूले बताएका छन् । उनीहरूको खोजी सुरु गरिएको बताइएको छ ।
