• Monday 5th of October 2026

शाहरुख खानकी छोरी जग्गा खरिद प्रकरणमा विवादमा, छानबिन सुरु


  • धनकुटा खबर
  • .

मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान अलीबागको थल गाउँमा एक कृषि भूमिको खरिद सम्झौताका कारण समस्यामा परेकी छन् । उनले उक्त जग्गा कलेक्टरको अनुमतिबिना खरिद गरेको आरोप लागेको छ, जसका कारण अहिले यो डिलमाथि छानबिन सुरु भएको छ ।

समाचारमा जनाइएअनुसार महाराष्ट्र सरकारले खेतीका लागि किसानहरूलाई दिएको जग्गा सुहाना खानले खरिद गरेकी हुन् । यस्तो किसिमको कृषि भूमि खरिदका लागि कलेक्टरको अनिवार्य स्वीकृति चाहिन्छ । तर, सुहाना खानले उक्त जग्गा खरिद गर्दा आवश्यक अनुमति नलिएको र कागजी प्रक्रिया पनि पूरा नगरेको आरोप छ ।

सुहानाले यो जग्गा मुम्बईको कफ परेडमा बस्ने खोटे परिवारबाट करिब १३ करोड भारुमा खरिद गरेकी थिइन् । उनले ७७.४६ लाख रुपैयाँ स्ट्याम्प ड्युटी पनि तिरेकी छन् । यो स्थानान्तरण प्रक्रिया ३० मे २०२३ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत भएको थियो ।

यस प्रकरणको गम्भीरतालाई ध्यानमा राख्दै मुम्बई प्रहरीका रेजिडेन्ट डिप्टी कमिश्नरले यो सम्झौताको छानबिनका लागि अलीबाग तहसीलदारबाट प्रतिवेदन माग गरेका छन् ।

किसानको जग्गा खरिदका लागि कलेक्टरको अनुमति अनिवार्य

महाराष्ट्र कृषि भूमि ऐन, १९६१ अनुसार जुन व्यक्ति आफैं किसान हो (वा जसको परिवारसँग पहिलेदेखि नै कृषि भूमि छ), उसले मात्र खेतीको जग्गा किन्न सक्छ । गैरकिसानले यस्तो जग्गा सिधै खरिद गर्न पाउँदैनन् ।

थप रूपमा यदि सरकारले कुनै किसान परिवारलाई खेतीका लागि मात्र जमिन दिएको छ भने त्यो जग्गा सिधै बेच्न सकिँदैन । यसका लागि कलेक्टरको स्वीकृति लिनु अनिवार्य हुन्छ ।

यस्तो खरिद–बिक्रीमा क्रेता र बिक्रेता दुवैले तहसीलदार र कलेक्टरबाट नोअब्जेक्शन सर्टिफिकेट लिनुपर्छ । सुहाना खानको हकमा यी प्रक्रियाहरू पूरा नभएको आरोप छ, जसले गर्दा कानुनी जटिलता उत्पन्न भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖