काठमाडौँ । नेपालमा सूचीकरण नगरेर सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिने भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकहरूलाई सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
इन्टरनेट सेवा प्रदायकहरूको सङ्गठनले यसअघि भदौ १७ गते सरकारलाई पत्र लेखेर यसबारे आवश्यक तयारी गरिरहेको जनाएको थियो ।
अब प्राधिकरणसँग समन्वय गरी सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई नेटवर्कमा बन्द गर्ने प्रक्रिया अघि बढाइएको अध्यक्ष सुधीर पराजुलीले जनाएका छन् ।
यसले ग्राहकहरूलाई हुन सक्ने असुविधाप्रति क्षमा माग्दै सङ्गठनले विज्ञप्तिमा अन्य सूचीकरण भएका सामाजिक सञ्जाल भने निर्बाध रूपमा सञ्चालनमा रहने स्पष्ट पारेको छ ।
यो निर्णय सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को मिति २०८२/०५/०१ को निर्णय तथा सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
