• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प


  • धनकुटा खबर
  • .

मनिला । फिलिपिन्सको मिन्डानाओ क्षेत्रको तटमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन्।

भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरभन्दा टाढा रहेका इन्डोनेसियाको उत्तरी सुलावेसी र पपुवा क्षेत्रमा पनि सुनामीको चेतावनी दिइएको छ। इन्डोनेसियाको भौगर्भिक एजेन्सीले यी क्षेत्रहरू खतरामा रहेको जनाएको छ।

प्यासिफिक सुनामी चेतावनी केन्द्रका अनुसार फिलिपिन्सका केही तटहरूमा सुनामीका छालहरू सामान्य ज्वारभाटाको स्तरभन्दा ३ मिटरसम्म (१० फिट) माथि पुग्न सक्छन्। इन्डोनेसिया र पलाउका केही तटहरूका लागि भने छालहरू सामान्यभन्दा एक मिटरसम्म माथि पुग्न सक्ने चेतावनी दिइएको छ।

फिलिपिन्सका अधिकारीहरूले पहिलो सुनामीका छालहरू स्थानीय समयअनुसार बिहान ११:४३ अघि नै आइपुग्न सक्ने र ती ‘घण्टौँसम्म रहन सक्ने’ बताएका छन्।

तत्काल उच्च स्थानमा जान निर्देशन
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थाले प्रभावित प्रान्तका तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल उच्च स्थानमा वा भित्री भागतिर जान आग्रह गरेको छ। संस्थाले डुङ्गा मालिकहरूलाई आफ्ना डुङ्गाहरू सुरक्षित गर्न र पानीको किनारबाट टाढा सार्न पनि सल्लाह दिएको छ। संस्थाले यो अवधिको समयमा समुद्रमा रहेका डुङ्गाहरूलाई अर्को सूचना नआएसम्म गहिरो पानीमा नै रहन भनिएको छ।

दक्षिणी फिलिपिन्सको डाभाओ ओरिएन्टल प्रान्तका गभर्नर एडविन जुबाहिबले भूकम्प जाँदा मानिसहरूमा भागदौड मच्चिएको र केही भवनहरूमा क्षति पुगेको जानकारी दिएका छन्। उनले भूकम्प ‘धेरै शक्तिशाली’ रहेको बताए।

यस हप्ता गएको यो भूकम्पले फिलिपिन्समा प्राकृतिक प्रकोपहरूको शृङ्खला जारी राखेको छ। गत हप्ता सेबु प्रान्तको बोओगको तटीय सहरमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा ७४ जनाको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएका थिए।

फिलिपिन्स टाइफून (सामुद्रिक आँधी) को जोखिममा पनि छ। हालै तीव्र आँधी बुआलोइले फिलिपिन्सको केन्द्रमा रहेका साना टापुहरूमा क्षति पुर्‍याउँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो र लाखौँ मानिसहरूलाई विस्थापित हुनुपरेको थियो।

यसै वर्षको सेप्टेम्बरमा सबैभन्दा ठुलो आँधी सुपर टाइफून रागसा देशको उत्तरी कागयान प्रान्तमा ठोक्किएको थियो। सन् २०१२ मा पनि टाइफून बोफाका कारण सोही प्रान्तमा सयौँको ज्यान गएको थियो।-बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖