रौतहट जिल्लाका डा. रामजी रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । उनी चमार समुदायबाट पहिलो एमबीबीएस डाक्टर हुन् ।
गरिबी, जातीय विभेद र असमानतामाथि जित्दै रामजीले असम्भव जस्तो लाग्ने सपना पूरा गरे । बिहान काम नगरे बेलुका भोकै सुत्ने अवस्थाबाट उठेका उनी कहिल्यै हार मानेनन् ।
काठमाडौंमा आएर उनले सुकुम्बासी बस्तीमा बस्दै शहरका गल्लिगल्लीमा ग्याँस चुलो र कुकर मर्मत गर्ने काम गरे । पढाइका लागि ट्युसन पढाएर आएको ७०० ले खर्च चलाए । कहिले रोटी घरबाटै बनाएर होटलमा मागेर अचारसँग खान्थे ।
२०७२ सालमा सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने मौका पाए तर किष्ट मेडिकल कलेजले १५ लाख अतिरिक्त शुल्क माग्दा उनी पुनः संघर्षमा होमिए । गरिबिकै कारण उनले पैसा तिर्न सक्ने अवस्था नभएपछि सर्वोच्च अदालत पुगेपछि उनले न्याय पाए र भर्ना हुन पाए ।
चौथो वर्षमा पनि कलेजले शुल्क नतिरेको भन्दै परीक्षा हलबाट निकाल्दा उनी रोए -तर हार मानेनन् । अन्ततः २०७९ सालमा एमबीबीएस पूरा गरे र नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गर्दै देशकै गौरव बने ।
आज ती नै रामजी रामलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिन लागिएको छ ।
सुकुम्बासी बस्तीमा संघर्ष गर्दै ठूला सपना देख्ने युवाको अब यात्रा मन्त्रालयसम्म पुगेको छ ।
