• Sunday 4th of October 2026

काठमाडौं उपत्यकाका १९ वटा सार्वजनिक स्थानमा अब निःशुल्क वाइफाइ इन्टरनेट प्रयोग गर्न सकिने


  • धनकुटा खबर
  • .

काठमाडौं उपत्यकाका १९ वटा सार्वजनिक स्थानमा अब निःशुल्क वाइफाइ इन्टरनेट प्रयोग गर्न सकिने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको पहलमा सुरु गरिएको यो परियोजनाअन्तर्गत अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यातायात कार्यालयजस्ता स्थानमा इन्टरनेट सेवा विस्तार गरिएको हो।

मन्त्रालयका अनुसार नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायनेटको सहकार्यमा यो सेवा सञ्चालनमा आएको हो। यसअघि सेवा अवरुद्ध वा कमजोर रहेका स्थानमा मर्मत, क्षमता अभिवृद्धि र गुणस्तर सुधार गरिएको छ भने नयाँ बसपार्क, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन विमानस्थलमा नयाँ वाइफाइ जडान गरिएको छ।

अब ती स्थानहरूमा प्रयोगकर्ताले १५० एमबिपिएसको गति र प्रति डिभाइस ५०० एमबीसम्म निःशुल्क इन्टरनेट प्रयोग गर्न सक्नेछन्। मन्त्रालयले उपत्यकाबाहिरका १० प्रमुख सहरमा पनि यही मोडेलमा वाइफाइ विस्तारको तयारी भइरहेको जनाएको छ।

मन्त्री खरेलको निर्देशनमा सुरु गरिएको यो परियोजना “डिजिटल पहुँच सबैका लागि” भन्ने उद्देश्यसहित अघि बढाइएको हो। उनले भने, “अब हरेक नागरिकले सार्वजनिक स्थानमै निःशुल्क इन्टरनेटको पहुँच पाउनेछन्, यो डिजिटल नेपालतर्फको ठोस कदम हो।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖