भारतको राजधानी दिल्ली नजिकै ठूलो मात्रामा विष्फोटक र हतियार फेला परेको छ। जम्मु–कश्मीर प्रहरीले हरियाणाको फरीदाबाद क्षेत्रबाट करिब ३५० किलो अमोनियम नाइट्रेट, एक असल्ट राइफल (AK–47), २० टाइमर, पिस्तोल, तीन म्यागजिन र वाकी–टकी सेट बरामद गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो बरामद उत्तर प्रदेशको सहारनपुरबाट पक्राउ परेका काश्मिरी चिकित्सक डा. आदिल अहमद राथरको बयानका आधारमा भएको हो। राथरलाई केही हप्ता अघि श्रीनगरमा आतङ्कवादी समूह जैश–ए–मोहम्मदको समर्थनमा पोस्टर टाँसेको आरोपमा पक्राउ गरिएको थियो।
अनुसन्धानका क्रममा राथरले फरीदाबादमा अर्का चिकित्सक डा. मुजम्मिल शकीलसँग मिलेर विष्फोटक र हतियार लुकाएको खुलासा गरेका थिए। पुलवामाका शकील हाल फरीदाबादस्थित अल–फलाह अस्पतालमा कार्यरत थिए। दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
फरीदाबाद प्रहरी आयुक्त सतेन्द्रकुमार गुप्ताका अनुसार बरामद विष्फोटक अत्यन्त खतरनाक प्रकृतिको हो र यसको प्रयोग “ठूलो स्तरको आतङ्कवादी गतिविधि” का लागि हुनसक्ने आशंका गरिएको छ। उनले भने, “राजधानी नजिक यस्तो ठूलो मात्रामा विष्फोटक भेटिनु गम्भीर सुरक्षा चुनौती हो।”
यो घटनाको जड अक्टोबर २७ मा श्रीनगरमा देखिएका जैश–ए–मोहम्मद समर्थनका पोस्टरहरूसँग जोडिएको बताइएको छ। स्थानीय प्रहरीले CCTV फुटेजमार्फत डा. राथरको पहिचान गरी उनलाई सहारनपुरबाट पक्राउ गरेको थियो। पछि उनको अनन्तनाग मेडिकल कलेजको लॉकरबाट AK–47 र गोली–बारुद समेत बरामद भएको थियो।
दुवै चिकित्सकमाथि अहिले आर्म्स एक्ट र आतंकवाद निवारण ऐन (UAPA) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। भारतीय प्रहरीले अहिले अनुसन्धानलाई तीव्र बनाउँदै राजधानी क्षेत्रमा विष्फोटक कसरी पुर्याइयो भन्ने विषयमा ध्यान केन्द्रित गरेको छ। यस घटनाले भारतको सुरक्षा संयन्त्रमा उच्च सतर्कता र नयाँ चिन्ता थपेको छ।
