• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

दिल्ली विस्फोटको कनेक्सन जोडियो २९ सय किलो विस्फोटक पदार्थसँग


  • धनकुटा खबर
  • .

दिल्लीको लाल किल्ला नजिक सोमबार साँझ भएको विस्फोटमा प्रयोग गरिएको कार जम्मु–कश्मीरका एक चिकित्सकसँग सम्बन्धित रहेको पत्ता लागेको छ।

कम्तिमा १३ जनाको मृत्यु र २१ जना घाइते भएको यो घटना ‘आत्मघाती’ हमला हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार विस्फोट भएको कार पुलवामाका बासिन्दा डा. उमर उन नबीको हो। विस्फोट बेला उनले नै कार चलाइरहेको अनुसन्धान अधिकारीहरूले बताएका छन्।

हालै हरियाणाको फरिदाबादमा फेला परेको ठूलो परिमाणको विस्फोटक पदार्थसँग पनि उमरको कनेक्सन जोडिएको हिन्दुस्तान टाइम्सले लेखेको छ।
कारको स्वामित्व खोज्दै जाँदा फरिदाबादमा फेला परेको विस्फोटक पदार्थसँग कनेक्सन जोडिएको एक अनुसन्धान अधिकारीले बताए।

ती अधिकारीका अनुसार विस्फोट भएको कार पहिलो पटक सलमान भन्ने व्यक्तिको नाममा दर्ता थियो। उनले देविन्दर नामका व्यक्तिलाई त्यो कार बेचिसकेको बयान दिए।

यही बयानका आधारमा देविन्दरलाई पक्राउ गर्दा उनले त्यो कार तारिक नामका व्यक्तिलाई बेचेको बताए।

‘तारिकको खोजी गर्दै जाँदा हामीले थाहा पायौं, त्यो कार अन्तिम पटक उमरको स्वामित्वमा रहेछ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘विस्फोटको बेला उमर कारमै सवार रहेको देखिन्छ। उनी आफ्ना डाक्टर साथीहरू मुजम्मिल शाकिल र अदिल अहमदसँग थिए।’

हिन्दुस्तान टाइम्सका अनुसार शाकिललाई अक्टोबर ३० मा जम्मु–कश्मीर प्रहरीले पक्राउ गरेको थियो भने केही दिनअघि अदिल अहमद पक्राउ परेका थिए। उनीहरू दुवै फरिदाबादामा फेला परेको करिब २,९०० किलो एमोनियम नाइट्रेट र बम बनाउने अन्य सामग्रीसँग जोडिएका छन्।

‘साथीहरू पक्राउ परेपछि उमरले आत्मघाती हमला गरेका हुन सक्छन्,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘जम्मु–कश्मीर प्रहरीबाट पनि उनीहरूको सम्बन्ध पुष्टि भएको छ।’

कतिपय अधिकारीले भने यो आत्मघाती हमला नभएर कारभित्र राखिएको बम वा विस्फोटक पदार्थ आकस्मिक रूपमा पड्केको अनुमान पनि गरेका छन्।

उनीहरूका अनुसार विस्फोटको तीव्रता र तापका आधारमा ‘एमोनिया जेल’ वा त्योजस्तै शक्तिशाली विस्फोटक पदार्थ प्रयोग भएको देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖