दिल्लीमा केही दिनअघि भएको कार बम विस्फोटका मुख्य योजनाकार मानिएका डा उमर नबीको पुलवामास्थित घर सुरक्षा निकायले बिहीबार राति आईईडी प्रयोग गरेर नष्ट गरेको छ।
भारतिय पत्रिका दैनिक भास्करका अनुसार उनको घर पूर्णरुपमा ध्वस्त पारिएको छ।
नोभेम्बर १० मा दिल्लीको लालकिल्ला नजिकै कार बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको थियो र २० जना घाइते भएका थिए। प्रहरीका अनुसार सीसीटीभी फुटेजमा विस्फोट गराइएको कारमा डा उमर नै देखिएका थिए र उनी पनि त्यही घटनामा मारिएका थिए।
उक्त विस्फोटको अनुसन्धान क्रममा प्रहरीले हालसम्म ८ जनालाई नियन्त्रणमा लिएको छ।
गुप्तचर निकायले बाबरी मस्जिद भत्काएको वार्षिकोत्सव डिसेम्बर ६ का दिन दिल्लीसहित देशका विभिन्न स्थानमा बम विस्फोट गर्न समूहले योजना बनाएको दाबी गरेको छ। हालको दिल्ली विस्फोट पनि त्यही योजनाको हिस्सा भएको बताइएको छ।
