• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

‘सबै दोष म लिन्छु’—पराजयपछि रोहिणीको भावनात्मक पोस्ट


  • धनकुटा खबर
  • .

भारतीय राज्य बिहारको ताजा विधानसभा चुनावमा राष्ट्रिय जनता दल (आरजेडी) ले व्यहोरेको करारी पराजयपछि पूर्वमुख्यमन्त्री लालु यादवकी छोरी रोहिणी आचार्यले राजनीति मात्र होइन, परिवारसँगको सम्बन्ध पनि तोड्ने घोषणा गरेकी छन्।

शनिबार सामाजिक सञ्जालमा भावनात्मक स्टाटस लेख्दै रोहिणीले पार्टी पराजयको सम्पूर्ण जिम्मा आफ्नो काँधमा लिएको बताइन्। “म राजनीति छोड्दै छु र परिवार त्याग्दै छु। सञ्जय यादव र रमिजले मलाई यसो गर्न भनेका हुन्। सबै दोष म लिन्छु,” उनले लेखेकी छन्।

उनको आरोपबारे आरजेडी नेतृत्व वा सञ्जय यादवको पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

रोहिणीको राजनीतिक यात्रा विगत केही वर्षयता उतार–चढावपूर्ण रहँदै आएको छ। उनी गत वर्ष सारण लोकसभा क्षेत्रबाट चुनाव लडेकी थिइन् तर भाजपा नेता राजीव प्रताप रुडीसँग पराजित भएकी थिइन्।

यो घटनाले लालु परिवारभित्रको तनाव झनै सतहमा आएको छ। त्यसअघि नै लालु यादवले जेठो छोरा तेज प्रताप यादवलाई पार्टी र परिवार दुवैबाट निष्कासन गरेका थिए। तेज प्रतापले नयाँ दल बनाएर महुआ सिटबाट चुनाव लडे पनि तेस्रो स्थानमै सीमित रहनुपर्‍यो।

यसपटकको चुनावमा सत्तारूढ एनडीए गठबन्धनले २०२ सिट जितेर स्पष्ट बहुमत ल्याउँदा कंग्रेस नेतृत्वको महागठबन्धन र आरजेडी ३४ सिटमै रोकिए।

रोहिणीको घोषणा आरजेडीको लगातार घट्दो जनसमर्थन र संगठनभित्रको विभाजनलाई संकेत गर्ने अर्को महत्वपूर्ण घटना मानिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖