• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

चीनले भन्यो – “भारतको भैंसीको मासु नेपालमा काटेर पठाए पनि हामी लिंदैनौं, नेपालमै जन्मेको र हुर्केको भैंसी चाहियो”


  • धनकुटा खबर
  • .

नेपालले चीनमा भैंसीको मासु निर्यात गर्ने तयारी गरे पनि चिनियाँ पक्षले कडा सर्त राखेपछि यो योजना तत्कालका लागि अन्योलमा परेको छ।

चिनियाँ भन्सार प्रशासन (GACC) ले नेपालबाट निर्यात हुने भैंसीको मासु नेपालमै जन्मेर पालिएको (born and raised in Nepal) र ३० महिनाभन्दा कम उमेरको हुनुपर्ने स्पष्ट अडान लिएको छ। यसको अर्थ भारतबाट जीवित भैंसी ल्याएर नेपालमा बध गरेर वा प्रशोधन गरेर पठाइने मासु चीनले स्वीकार गर्ने छैन।

यो सर्तले नेपाली मासु व्यवसायीहरूलाई ठूलो झट्का दिएको छ किनभने हाल नेपालमा उत्पादन हुने भैंसीको मासु आन्तरिक खपतलाई पनि मुश्किलले पुग्छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भैंसीको संख्या निरन्तर घट्दो क्रममा छ र वार्षिक मासु उत्पादन करिब १ लाख १६ हजार मेट्रिक टन मात्र छ। निर्यात गर्नुपरेमा हालको अवस्थामा ७० प्रतिशतसम्म भारतबाट भैंसी आयात गर्नुपर्ने बाध्यता छ।

सरकारले भैंसीको नश्ल सुधार, कृत्रिम गर्भाधान, अनुदान र पकेट क्षेत्र विकासका कार्यक्रम अघि सारे पनि ती सबै दीर्घकालीन प्रकृतिका हुन्। यस्ता कार्यक्रमले फल दिन कम्तीमा २–३ वर्ष लाग्ने विज्ञहरू बताउँछन्। यसैकारण व्यवसायीहरूले तत्कालका लागि चीन निर्यात सम्भव नभएको बताएका छन्।

गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको द्विपक्षीय प्रोटोकल सम्झौता र हिमालयन फूड इन्टरनेशनल तथा चिनियाँ कम्पनीबीच भएको ठूलो MoU ले ठूलो आशा जगाएको थियो। तर चिनियाँ पक्षको यो नयाँ सर्तले छोटो समयमै ठूलो परिमाणमा निर्यात गर्ने सपना अनिश्चित बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖