३० वर्षपछि चीनले कन्डममै कर लगायो, जन्मदर बढाउन हतियार! जनता आक्रोसित, विशेषज्ञहरुले चेतावनी दिए
चीनले आगामी वर्षदेखि कन्डम लगायतका सबै गर्भनिरोधक सामग्रीमा कर उठाउने घोषणा गरेको छ, र यो निर्णय ३० वर्षपछि पहिलो पटक लागू हुँदैछ। जनवरी १ देखि गर्भनिरोधक औषधि र उत्पादहरुलाई १३ प्रतिशत भ्याट लागू गरिने चीनको नयाँ कर कानुनले स्पष्ट गरेको छ।
यो कदम सरकारको जन्मदर बढाउने दबाबसँग जोडिएको छ। दशकमौं एक बच्चा नीति लागू गरेपछि अहिले चीनमा जन्मदर लगातार घट्दै आएको छ, र सरकार जोडीहरुलाई धेरै बच्चा जन्माउन प्रोत्साहन गर्दैछ।
तर सामाजिक सञ्जालमा भने जनता खुलेर व्यंग्य गरिरहेका छन्। धेरैले लेखे, कन्डममा कर लाग्यो भन्दै बच्चा जन्माउन कोही प्रेरित हुँदैन, किनकि चीनमा बच्चा हुर्काउने खर्च कन्डम भन्दा सय गुना महँगो हुन्छ।
विशेषज्ञहरुको चेतावनी
• कन्डम महँगो हुँदा बिना योजना गर्भ रहन सक्ने जोखिम बढ्छ
• लैंगिक रोग फैलिने सम्भावना धेरै बढ्न सक्छ
• गर्भपतनको दर अझै चर्किन सक्छ
चीनमा वार्षिक ९ देखि १० मिलियन गर्भपतन हुने अनुमान छ, वास्तविक संख्या अझै बढि भएको विशेषज्ञहरुको दाबी छ।
चीनको जनसांख्यिक संकट गहिरिँदै
२०२4 मा चीनमा ९.५ मिलियन मात्र बच्चा जन्मिए, जुन २०१९ को तुलनामा एक तिहाइ कम हो। मृत्यु दर जन्मदर भन्दा बढेपछि २०२3 मा भारतले चीनलाई जनसंख्यामा पछि पारेको थियो।
एक बच्चा नीति, भारी जरिवाना, र कहिलेकाहीँ जबरजस्ती गर्भपतनसम्मका कडा कदम अपनाएको चीन अहिले उल्टो मोडमा छ, तर जनता भने सरकारको यो नयाँ कदमलाई ‘उल्टो असर पर्ने’ भन्दै आलोचना गरिरहेका छन्।
कसैले भन्न थाले,
“अहिले कन्डममा कर, भोलि शायद प्रेमपत्रमा पनि कर लाग्ला”
“सस्तो बच्चा होइन, सस्तो जीवन चाहिएको हो”
यो कदमले जनसंख्या बढाउने कि झनै घटन दिने, अब हेर्न बाँकी छ।
