• Sunday 4th of October 2026

सनी लियोनीलाई मथुरा प्रवेशमा रोक लगाउन साधु-सन्तको माग


  • धनकुटा खबर
  • .

मथुरा । बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको कार्यक्रमका कारण विवादमा तानिएकी छन्। भारतको उत्तर प्रदेशस्थित धार्मिक नगरी मथुरामा नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको सनीको कार्यक्रमलाई लिएर स्थानीय साधु-सन्तहरूले चर्को विरोध सुरु गरेका हुन्।

उनीहरूले सनीलाई मथुरा प्रवेशमा रोक लगाउनुपर्ने माग समेत राखेका छन्। मथुराका साधु-सन्तहरूले जिल्ला अधिकारीलाई पत्र लेख्दै उक्त कार्यक्रम रद्द गर्न र आयोजकमाथि कडा कारबाही गर्न माग गरेका छन्।

श्रीकृष्ण जन्मभूमि मन्दिर केसका मुख्य निवेदनकर्ता दिनेश फलाहारी महाराजले यस विषयमा अग्रसरता लिँदै कार्यक्रम रोक्न पत्र बुझाएका हुन्। ब्रजभूमि श्रीकृष्णको रासलीलाको पवित्र स्थल भएको र नयाँ वर्षको नाममा त्यहाँ ‘अश्लीलता’ प्रदर्शन गर्न लागिएको भन्दै उनले आपत्ति जनाएका छन्।

मथुराको होटल ललिता ग्राउन्ड र होटल दा ट्रकमा सनी लियोनीको यो इभेन्ट हुने तयारी थियो, जसको प्रचार स्वयं अभिनेत्रीले सामाजिक सञ्जालमार्फत गरिरहेकी छन्। दिनेश फलाहारी महाराजका अनुसार विश्वभरका सनातन धर्मावलम्बीहरू भजन-कीर्तन र पूजापाठका लागि मथुरा आउने गर्छन्, यस्तोमा केही मानिसहरूले सुनियोजित रूपमा यो दिव्य भूमिलाई बदनाम गर्न खोजेको आरोप उनले लगाएका छन्।

साधु-सन्तहरूको यो कडा विरोधपछि अब सनी लियोनीको कार्यक्रम हुन्छ वा हुँदैन भन्नेमा अन्योल बढेको छ। प्रशासनले यस विषयमा के निर्णय लिन्छ भन्ने कुरामा सबैको चासो रहेको छ। मथुरामा सनीको विरोध भएको यो पहिलो पटक भने होइन, यसअघि पनि उनको एउटा गीतका कारण त्यहाँ ठूलो विवाद भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖