नेकपा (एमाले) को भ्रातृ संस्था राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य श्रद्धा कुवँर क्षेत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बनेकी छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा उनको नाम महिला (खस/आर्य)तर्फ चौथो नम्बरमा समावेश गरिएको छ।
श्रद्धा यसअघि एमाले रुपन्देही जिल्ला कमिटी सदस्यसमेत रहेकी थिइन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकै नजिकको सम्बन्धमा रहेको भन्दै चिनिन्थिन्। सामाजिक सञ्जालमा ओलीलाई ‘बा’ र उनकी धर्मपत्नी राधिका शाक्यलाई ‘आमा’ सम्बोधन गर्दै आएका तस्बिर तथा अभिव्यक्तिहरूले उनको एमालेसँगको निकटता सार्वजनिक रूपमा देखिँदै आएको थियो। ओलीसँगको नजिककै कारण उनी राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य बनेको दाबी जिल्लास्तरमा हुँदै आएको थियो।
एमाले परित्याग गरेर रास्वपामा प्रवेश गरेपछि श्रद्धाको राजनीतिक यात्रालाई लिएर विभिन्न चर्चा परिचर्चा पनि चलेका छन्। केहीले ज्योतिषीय सल्लाहपछि उनले पार्टी परिवर्तन गरेको चर्चा गरेका छन्। केही दिनअघि साथीका साथ ज्योतिषकहाँ गएर ‘जाने सोच बनाएको पार्टीमा निर्धक्क जानुस्’ भन्ने सल्लाह पाएपछि उनले एमाले छाड्ने निर्णय गरेको हल्ला सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
रास्वपा स्रोतका अनुसार श्रद्धा कुवँर क्षेत्री काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निकट टिमबाट सिफारिस भएर समानुपातिक सूचीमा परेकी हुन्। एमालेबाट लामो समय सक्रिय राजनीतिमा रहेकी श्रद्धाको रास्वपामा प्रवेश र उम्मेदवारीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
एमाले नेतृत्वसँग निकट सम्बन्ध रहेकी एक युवा नेतृको रास्वपामा प्रवेशले आगामी निर्वाचनमा रुपन्देही र केन्द्रीय राजनीतिमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ।
