• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मन्त्री पद गुम्यो, समानुपातिक पनि छुट्यो—कुलमानमाथि एमालेको प्रहार


  • धनकुटा खबर
  • .

नेकपा एमालेका सचिव महेश बस्नेत ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ को राजनीतिक भविष्य गम्भीर संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयास असफल भएपछि कुलमान ‘न घरको न घाटको’ अवस्थामा पुगेको उनको दाबी छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले रवि लामिछाने को राजनीतिलाई ‘माकुराको जालो’ सँग तुलना गरेका छन्। उनले रविको भरोसामा पर्दा कुलमानले मन्त्री पद मात्र होइन, समानुपातिक उम्मेदवार बन्ने अवसरसमेत गुमाएको बताएका छन्। “माकुराको जालोमा परेपछि सजिलै उम्किन सकिँदैन,” भन्दै उनले कुलमानको अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

बस्नेतले एमाले र नेपाली कांग्रेसजस्ता स्थापित दलहरूलाई ‘चरा’ को संज्ञा दिँदै यस्ता दलहरूसँग माकुराको जालो तोड्ने शक्ति रहेको उल्लेख गरेका छन्। तर कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जस्ता नयाँ र सामाजिक सञ्जालमा लोकप्रिय पात्रहरू भने ‘पुतली’ जस्तै भएको उनको टिप्पणी छ। अन्तर्राष्ट्रिय शक्तिले बुनेको रविको राजनीतिक जालोमा परेर कुलमान अन्धकारतर्फ धकेलिएको उनको तर्क छ।

“केही महिनाका लागि आएको अस्थायी मन्त्री पदको मूल्यमा कुलमानको दीर्घकालीन राजनीतिक भविष्य नै समाप्त भयो,” बस्नेतले लेखेका छन्। उनले कुलमानको अवस्था देखेपछि अब बालेन शाहको पालो आउन सक्ने चेतावनीसमेत दिएका छन्। बालेन पनि रवि लामिछानेको राजनीतिक जालोमा पर्ने दिन धेरै टाढा नरहेको उनको ठोकुवा छ।

पार्टी एकताको नाममा रवि लामिछानेले कुलमानलाई प्रयोग गरेर अन्ततः बिचल्लीमा पारेको र समानुपातिक उम्मेदवार दर्ता गर्ने समयसमेत गुमेको बस्नेतको आरोप छ। सामाजिक सञ्जालमा चर्चित यी नयाँ राजनीतिक पात्रहरू अन्ततः टिकाउ राजनीतिक शक्ति बन्न नसक्ने संकेत गर्दै उनले नेपालको वास्तविक तागत अझै पनि स्थापित दलहरू—एमाले र कांग्रेस—मै रहेको दाबी गरेका छन्।

बस्नेतको यो अभिव्यक्तिले रास्वपा, उज्यालो नेपाल र नयाँ राजनीतिक शक्तिबारे चलिरहेको बहसलाई थप चर्काएको छ भने राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया जन्माएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖