• Sunday 4th of October 2026

बिरामी परे ४ अन्तरिक्ष यात्री, आकस्मिक रूपमा पृथ्वीमा फर्काइँदै


  • धनकुटा खबर
  • .

अमेरिकी अन्तरिक्ष एजेन्सी नाशाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा कार्यरत केही अन्तरिक्ष यात्रीहरूलाई स्वास्थ्य समस्याका कारण आकस्मिक रूपमा पृथ्वीमा फर्काउने निर्णय गरेको छ ।

स्पेस स्टेशनको २५ वर्षे इतिहासमा स्वास्थ्यमा समस्या आएर अन्तरिक्ष यात्रीहरूलाई उद्धार (पूर्वनियोजित मेडिकल इभ्याकुएसन) गर्नुपर्ने अवस्था आएको यो नै पहिलो पटक भएको बताइएको छ ।

नासाका अनुसार स्वास्थ्य समस्या देखिएका अन्तरिक्ष यात्रीको अवस्था स्थिर छ । तर अन्तरिक्षमा रहेको सीमित उपचार सुविधा र दीर्घकालीन जोखिमलाई ध्यानमा राख्दै उनीहरूलाई छिट्टै पृथ्वीमा फर्काउने निर्णय भएको हो।

समाचार अनुसार स्पेस स्टेशनमा रहेका एकजना अन्तरिक्ष यात्रीमा देखिएको स्वास्थ्य समस्याले गर्दा क्रू-११ का ४ सदस्यलाई निर्धारित समयभन्दा अघि नै फिर्ता बोलाउने निर्णय गराएको नासाले जनाएको छ । अन्तरिक्षमै दीर्घकालीन उपचार जटिल हुने भएकाले जोखिम कम गर्न यो कदम उठाइएको हो ।

नासाका प्रमुख मेडिकल अधिकृत जेम्स पोल्कका अनुसार अन्तरिक्ष यात्रीको स्वास्थ्य समस्या लामो समयसम्म असर गर्ने खालको भए पनि स्पष्ट रूपमा पहिचान नभएको जोखिम (लिङ्गरिङ रिस्क) सँग सम्बन्धित छ।

गत जनवरी ७ मा नासाले अन्तरी क्षयात्रीको स्वास्थ्य समस्याकै कारण स्पेस स्टेशनको स्पेसवाक स्थगित गरेको थियो । त्यसको भोलिपल्ट ८ जनवरीमा नासाले आफ्नो क्रू–११ केही दिनभित्रै पृथ्वीमा फर्किने घोषणा गरिएको थियो ।

पृथ्वी फर्कने ४ अन्तरिक्ष यात्रीहरूमा अमेरिकाका माइक फिंके र जेना कार्डम्यान अनि जापानका किमिया युई र रूसका ओलेग प्लाटोनोभ छन् । उनीहरू क्रू–११ स्पेसएक्स मिसनका सदस्य हुन् । गत अगष्टदेखि अन्तर्राष्ट्रिय स्पेस स्ट्शनमा कार्यरत छन् । सामान्यतया यस्ता मिसनहरू ६ महिनाका हुन्छन् ।

नासाले यसलाई आपत्कालीन अवस्था नभएको स्पष्ट पारेको छ । यसअघि पनि स्वास्थ्य समस्या देखिएका थिए तर यसरी सम्पूर्ण क्रूलाई फिर्ता बोलाइएको चाहिँ पहिलो पटक हो।

क्रू-११ का चार अन्तरिक्ष यात्री छिटै नै पृथ्वीमा फिर्ता भएपनि स्पेस स्टेशन खाली चाहिँ हुनेछैन । अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टोफर विलियम्स र रूसी अन्तरी क्षयात्रीहरू सर्गेई कुद स्वार्चकोभ तथा सर्गेई मिकाएभ स्पेस स्टेशनमा रहनेछन् ।

उनीहरू तीनैजना गतनोभेम्बर २७ मा रुसको सोयुज अन्तरिक्ष यानबाट अन्तरिक्ष स्टेशनमा पुगेका थिए।

चार अन्तरिक्ष यात्रीलाई आकस्मिक रूपमा पृथ्वीमा फर्काउनुपरेको यो घटना कुनै खतरनाक रोगको प्रकोप वा शंकास्पद घटना नभएको नाशाले जनाएको छ । अन्तरिक्ष यात्रीको दीर्घकालीन स्वास्थ्य जोखिमलाई न्यूनतम बनाउने उद्देश्यले सावधानीपूर्वक कदम उठाइएको नाशाको भनाइ छ । यद्यपि उनीहरूलाई कहिले पृथ्वीमा फर्काइँदैछ भन्ने यकिन मिति सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖