नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई पाँच वर्षका लागि अनुशासन कारबाही गर्ने निर्णय गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन्।
कांग्रेसलाई एकताबद्ध राख्ने उद्देश्यसहित महामन्त्रीद्वयले ‘अन्तिम विकल्प’ का रूपमा संस्थापन पक्षसमक्ष आठ बुँदे प्रस्ताव पठाएका थिए। तर संस्थापन पक्षले ती प्रस्तावमध्ये एउटाबाहेक सबै अस्वीकार गरेपछि कारबाहीतर्फ अघि बढेको हो। कार्यवाहक सभापति खड्काले निर्वाचन आयोगमा पठाइएका उम्मेदवारहरूको सूचीमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर कार्यवाहक सभापतिको नाममा परिवर्तन गर्ने प्रस्तावबाहेक अन्य माग स्वीकार गर्न नसकिने जवाफ दिएका थिए।
महामन्त्रीद्वयले पठाएको प्रस्तावमा शेरबहादुर देउवाले पार्टीका दैनिक काम–कारबाहीबाट अलग रहने, संसदका उम्मेदवारको टिकटमा कार्यवाहक सभापतिको हस्ताक्षर हुने, अर्को महाधिवेशन नहुँदासम्म पार्टी सञ्चालनका लागि चार–पाँच जना नेताको ‘हाई कमान्ड’ बनाउने र गगन थापालाई कांग्रेसको भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै आगामी निर्वाचनमा उनकै नेतृत्वमा जाने प्रस्ताव समावेश थियो। तर यी प्रस्ताव संस्थापन पक्षले अस्वीकार गरेको हो।
हाई कमान्डमा कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा तथा वरिष्ठ नेता शेखर कोइरालासहितका नेताहरू रहने विषयमा छलफल भए पनि सहमति जुट्न सकेन। १५औँ महाधिवेशन वैशाखमा गर्ने तय भइसकेको अवस्थामा अन्तरिम अवधिसम्म पार्टी सञ्चालनका लागि यस्तो संयन्त्र आवश्यक रहेको महामन्त्री पक्षको तर्क थियो।
सहमति नजुटेपछि केन्द्रीय समिति बैठक पुनः सुरु गरी कारबाहीको निर्णय लिइएको हो। यसैबीच, विशेष महाधिवेशनअन्तर्गत भएको मनोनयन दर्ता अनुसार सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ। महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेल तथा सहमहामन्त्रीका लागि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित गर्नेछ। विधानअनुसार सहमहामन्त्री पदमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएका समुदाय गरी आठवटा क्लस्टर छुट्टयाइएको छ। महामन्त्रीमाथिको कारबाहीले कांग्रेसको आन्तरिक विवाद थप गहिरिएको देखिएको छ।
