सुर्खेत । नेपाली कांग्रेसबाट सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार सिफारिस भएका नेता हृदयराम थानीले फागुन २१ को निर्वाचन नलड्ने निर्णय गरेका छन् ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वास्थ्यको कारण देखाउँदै चुनाव नलड्ने घोषणा गरेका हुन् ।
करिब दुई महिनादेखि खुट्टामा नसा सम्बन्धी समस्याका कारण सहज रूपमा हिँडडुल गर्न नसकेको उनले उल्लेख गरेका छन् ।
साथै उनले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देश अप्रत्याशित राजनीतिक घटनाक्रम र अन्योलताबाट गुज्रिरहेको उनको भनाइ छ । ‘यो अवस्थामा फागुनमा निर्वाचन सम्पन्न गर्नु नै मुलुकको स्थायित्व र संविधानलाई लिगमा ल्याउन ठुलो निकास हुन्छ,’ उनले भनेका छन् ।
थानी सुर्खेत—२ बाट निरन्तर चुनाव लड्दै आएका नेता हुन् । उनी एक पटक केन्द्रमा मन्त्री समेत भइसकेका छन् भने ०७९ मा माओवादीको समर्थनमा चुनाव जितेका थिए ।
कर्णालीमा कांग्रेस इतर पक्षको नेतृत्व गरेका उनी विभाजनका बेला भने देउवा पक्षतिरै खुलेका छन् ।
