काठमाडौ । रास्वपाको समानुपाकिक सूचीबाट सत्यकला राईको नाम हटेपछि उनी भन्छिन्-
मेरो समानुपातिक सूचीबाट नाम हटाइदिनु भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
म रा.स्व.पा. को आन्तरिक मतदानमा आदिवासी जनजाति महिलातर्फ १४,२०१ मत प्राप्त गरी highest vote ल्याउने उम्मेदवार थिएँ। मैले पार्टीसमक्ष प्रस्तुत गरेको मेरो Blueprint मा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधीनताको संरक्षणलाई केन्द्रमा राखेकी थिएँ। विशेषतः सीमाको नियमन गर्दै सिमानामा काँडेतार बार वा पर्खाल निर्माण गर्नुपर्ने स्पष्ट धारणा राखेकी थिएँ।
म पहाडमा जन्मेकी, पहाडमै हुर्केकी पहाडकी छोरी हुँ। पहाडी भू–भागमा एकीकृत बस्ती विकास गरी बसाइँसराइ रोक्ने उपाय; पहाडलाई अर्गानिक कृषि हबका रूपमा विकास गर्ने योजना र विदेश पलायन हुन बाध्य युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेकी थिएँ।
“राष्ट्र पहिलो” भन्ने मेरो मूल मान्यता र प्रतिबद्धता थियो।
यति हुँदाहुँदै पनि सुचिमा मेरो नाम अन्तिमतिर राखिएको थियो। त्यहाँबाट नाम फिर्ता लिने प्रयास गर्दा जिल्लाका शुभचिन्तकहरूले “हामी निकाल्न दिँदैनौँ” भन्नु भयो। तर पनि मैले निरन्तर अनुरोध गरिरहेँ। अन्ततः मेरो भावना बुझिदिनु भएकोमा पार्टीप्रति पुनः धन्यवाद व्यक्त गर्दछु।
जो–जो साथीहरू माननीय बनेर संसदमा पुग्दै हुनुहुन्छ, यी विषयहरूलाई जोडदार रूपमा उठाइ दिन हुन हार्दिक अनुरोध गर्दछु।
“नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे” — माधवप्रसाद घिमिरे।
रा.स्व.पा.का आदरणीय सम्पूर्ण सदस्य साथीहरु, जसले मलाई भोट गरेर पहिलो नम्बरमा पुर्याइदिनु भयो। निरन्तर साथ र समर्थन दिनुभयो। तपाईंहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।
अहिले मलाई देश विदेशमा रहनु हुने मेरा शुभचिन्तकज्युहरुले फोन कल तथा म्यासेजद्वारा यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहनु भएको छ।
हजुरहरुलाई विश्वास दिलाउन चाहान्छु कि यो अन्त्य होइन, शुरुवात हो।
– सत्यकला राई
