• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

उम्मेदवार चयनमा असन्तुष्टिः रास्वपाको वडादेखि जिल्ला कमिटीद्वारा सामूहिक राजीनामा


  • धनकुटा खबर
  • .

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुमका जिल्ला कार्यसमितिसहित जिल्लाभरका सबै स्थानीय तहका कमिटीहरूले सामूहिक राजीनामा दिएका छन् ।

पार्टी केन्द्रले जिल्लाको भावना र स्थापित विधिलाई मिचेर उम्मेदवार चयन गरेको आरोप लगाउँदै उनीहरूले सामूहिक रूपमा पदत्याग गरेका हुन् । पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलाई सम्बोधन गरी पठाइएको राजीनामा पत्रमा आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा केन्द्रले मनोमानी गरेको उल्लेख गरिएको छ ।

अवेयर तेह्रथुमका संयोजक इन्जिनियर सुरेन्द्र कार्कीलाई ‘घण्टी’ चुनाव चिह्नका साथ साझा उम्मेदवार बनाउने जिल्लास्तरमा व्यापक राजनीतिक सहमति भएको भए पनि पार्टी केन्द्रले उक्त सहमतिको उपेक्षा गर्दै जिल्ला र प्रदेश समितिको भावनाविपरीत अमूक व्यक्तिलाई टिकट दिएको उनीहरूको दाबी छ ।

‘पार्टीले नै पारित गरेको उम्मेदवार छनोट प्रक्रियाभन्दा बाहिर गएर जिल्ला र प्रदेश समितिको भावनाविपरीत अमूक व्यक्तिलाई उम्मेदवारको टिकट दिँदा पार्टीको विधिमाथि प्रश्न उठेको छ । यसले तेह्रथुमको जनभावना र राजनीतिक सहमतिमा गम्भीर कुठाराघात गरेको छ,’ राजीनामा पत्रमा उल्लेख छ ।

सामूहिक राजीनामा बुझाउनेहरूमा जिल्ला कार्यसमिति सभापति ई. सुमन खत्री, म्याङलुङ नगरपालिकाका संयोजक गणेश खापुङ, लालीगुराँस नगरपालिकाका सभापति सुमन लिम्बु, मेन्छ्यायेम गाउँपालिकाका संयोजक छात्रबहादुर थापा, छथर गाउँपालिकाका सचिव विष्णु एस कटुवाल, फेदाप गाउँपालिकाका संयोजक लक्ष्मण थापा र आठराई गाउँपालिकाका सभापति चेतन गौतम छन् ।

त्यस्तै तेह्रथुम–काठमाडौं सम्पर्क विभागका संयोजक गुणनिधि दाहालसहित जिल्लाका सबै पालिका र वडा कमिटीका पदाधिकारीहरूले पनि सामूहिक राजीनामा दिएका छन् । केन्द्रसँग भएको सहमति कार्यान्वयन गर्न नसकेकोमा नैतिक जिम्मेवारी लिँदै आफूहरूले पदबाट राजीनामा दिएको उनीहरूले जनाएका छन् ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖