• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

चितवन-२ : रास्वपाका रवि तेस्रोपटक उम्मेदवार, कांग्रेस–एमालेबाट नयाँ अनुहार


  • धनकुटा खबर
  • .

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो आधार क्षेत्र मान्दै आएको चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने तेस्रोपटक उम्मेदबार बनेका छन् ।

सहकारी ठगीसम्बन्धी मुद्दाको सुनुवाइको लागि मंगलबार दिनभर वीरगन्जमा रहेका कारण भौतिक रूपमा उपस्थित हुन नसकेपछि लामिछानेले वारेसमार्फत उम्मेदवारी दिए । तर, मंगलबारै साँझ भरतपुर आएर आफ्ना समर्थकहरूलाई भेटे ।

चितवन क्षेत्र नं. २ मा लामिछानेले तेस्रोपटक उम्मेदवारी दिँदै गर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीले नयाँ उम्मेदवारलाई मौका दिएका छन् ।

कांग्रेसले महिला अधिकारकर्मी तथा बालबालिकाको क्षेत्रमा ३५ वर्षदेखि काम गर्दै आएकी मिना खरेललाई उम्मेदवार बनाएको छ । कांग्रेसकै अन्य उम्मेदवार हुँदा असहयोग हुन सक्ने अवस्था रहे पनि खरेलका नाममा भने कांग्रेसभित्र एकता छ ।

भरतपुर महानगरपालिका वडा नं. ४ घर भएकी खरेल जिल्लामा परिचित छिन् । कांग्रेस उम्मेदवार खरेलले सामाजिक क्षेत्रमा काम गरेको लामो अनुभवलाई राजनीतिक क्षेत्रमा जोड्न चाहेको बताइन् ।

एमालेबाट युवा नेता अस्मिन घिमिरे उम्मेवार बनेका छन् । एमाले बागमती प्रदेश कमिटीका सदस्य रहेका घिमिरे जनवादी गायक हुन् । अनेरास्ववियूको राजनीति गरेका घिमिरे आफ्नो क्षेत्रका युवाहरूलाई परेको बेलामा सहयोग गर्न उद्दत हुन्छन् ।

चितवन क्षेत्र नं. २ बाट यसअघि उम्मेदवार बनेका कृष्णभक्त पोखरेल र रामप्रसाद न्यौपाने उम्मेदवार बन्न तयार नभएपछि एमालेले युवा नेता घिमिरेलाई निर्वाचनमा उठाएको हो ।

घिमिरेले चितवन २ का जनताले आफ्नै भूगोलमा जन्मिएको जनप्रतिनिधि नपाउनु दुर्भाग्यपूर्ण भएकोले यसपटक युवाहरूको भावनालाई समेत प्रतिनिधित्व गर्ने गरी उम्मेदवारी दिएको बताए ।

नेपाली कम्युनिष्ट पार्टीले प्रताप गुरूङलाई उम्मेदबार बनाएको छ । चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको १० वटा वडा रहेको चितवन क्षेत्र नं. २ मा रवि लामिछाने २०७९ मंसिर ४ मा भएको निर्वाचनमा ४९ हजार २ सय ६४ मत ल्याएर विजयी बनेका थिए । त्यसपछि उनी उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए ।

वैधानिकता सकिएको नेपाली नागरिकता लिएर उम्मेदवार बनेर विजयी भएको भन्दै सर्वोच्च अदालतको आदेशमा उनको सांसद पद खारेज भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर पुन: नेपाली नागरिकता लिएका लामिछानेले २०८० वैशाखमा भएको निर्वाचन पनि जिते । यसपटक उनले अघिल्लोपटकभन्दा बढी मत ल्याएका थिए ।

दोस्रोपटक निर्वाचित भएपछि पनि उनी उपप्रधानमन्त्री र गृहमन्त्री बने । तर, सहकारीको रकम अपचलन अभियोगमा संसदीय छानबिन समितिले दोषी ठहर गरेयता उनी विभिन्न जिल्लामा मुद्दा झेल्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖