रुकुम पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूलाई अन्य दलका कार्यकर्ताको पनि साथ रहने दाबी गरेका छन् । रुकुम पश्चिमबाट उम्मेदवारी दिएका शर्माले आफू यस पटक नयाँ पार्टी र नयाँ चुनाव चिन्ह ‘आँखा’ लिएर जनतामाझ जान लागेको भए पनि कांग्रेस र एमालेका कार्यकर्ताले समेत मत दिने जिकिर गरे ।
विगतमा चार पटक चुनाव जितिसकेको र संसद् विघटनका कारण पछिल्लो कार्यकालका अधुरा काम पूरा गर्न पाँचौँ पटक चुनावी मैदानमा उत्रिन लागेको उनले बताए । आफू सधैँ रुकुमको साझा उम्मेदवारको रूपमा रहेको र चुनाव जितेपछि कसैलाई पनि राजनीतिक आस्थाका आधारमा विभेद नगरेकाले विपक्षी दलका कार्यकर्ताले समेत फोन गरेर ‘अभिभावक चाहियो’ भन्दै ढाडस दिएको शर्माको भनाइ छ ।
उनले आफू नयाँ दलमा भए पनि व्यक्तिगत प्रभाव र विगतका कामको मूल्याङ्कन गर्दै अन्य दलका सङ्गठित सदस्यहरूले समेत प्रत्यक्षतर्फको भोट आफूलाई दिने वचन दिएको खुलासा गरे ।
शर्माले यसपटकको निर्वाचनमा युवा केन्द्रित एजेन्डालाई प्राथमिकतामा राखेका छन् । रुकुममा ‘आइटी पार्क’ निर्माण गरी विदेशी कम्पनीका काम गाउँमै बसेर गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उनको योजना छ । रोजगारीका लागि खाडी मुलुक जानुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय स्रोत साधनको परिचालन, कृषि र साना उद्योगको विकास गर्ने प्रतिबद्धता उनले जनाए ।
