• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह आजदेखि तेस्रो चरणको जिल्ला दौडाहामा


  • धनकुटा खबर
  • .

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह आजदेखि तेस्रो चरणको जिल्ला दौडाहामा निस्किएका छन्। पूर्वका विभिन्न जिल्लामा केन्द्रित यस चरणको दौडाहामा उनी मोरङ, सुनसरी र उदयपुर पुग्ने कार्यतालिका रहेको छ।

यसअघि पहिलो चरणमा बिर्तामोड हुँदै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाको भ्रमण गरेर काठमाडौँ फर्किएका शाह त्यसपछि सुदूरपश्चिम प्रदेशको यात्रा पूरा गरी सोमबार काठमाडौँबाट झापा फर्किएका थिए। मंगलबार उनी दिनभर आफ्नै निर्वाचन क्षेत्रका मतदाता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त रहेका थिए।

बुधबार बिहान मोरङको उर्लाबारीबाट यात्रा सुरु गर्ने शाहले पथरी, लेटाङ हुँदै विभिन्न स्थानमा कार्यकर्ता तथा मतदातासँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ। लेटाङबाट करिब ५० मिनेटको यात्रापछि उनी डायनिया पुग्ने र त्यसपछि विराटनगरको बरगाछी क्षेत्रमा पुग्ने कार्यतालिका रहेको छ।

विराटनगरबाट दुहबी हुँदै इटहरी पुग्ने शाहले त्यहाँ करिब डेढ घण्टा कार्यकर्ता तथा उम्मेदवारहरूसँग छलफल गर्नेछन्। छलफलपछि मध्याह्न १२ बजे इटहरीबाट इनरुवा प्रस्थान गर्ने र साढे १२ बजेपछि बराहक्षेत्रतर्फ जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

बराहक्षेत्रको कार्यक्रम सकेपछि शाहको अन्तिम गन्तव्य उदयपुर तय गरिएको छ। बुधबार दिउँसो ४ बजेसम्म उनी उदयपुर पुग्ने अपेक्षा गरिएको छ। यस क्रममा उनले पार्टी कार्यकर्ता, उम्मेदवार तथा सर्वसाधारण मतदातासँग भेटघाट र अन्तरक्रिया गर्नेछन्।

रास्वपाले जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै जिल्ला–जिल्लामा सक्रियता बढाइरहेको अवस्थामा बालेन्द्र शाहको यो दौडाहालाई पार्टीको संगठन विस्तार र चुनावी तयारीका दृष्टिले महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖