तेहरान । इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईसीआरजीसी) ले मध्यपूर्वका २७ वटा अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिका र इजरायलले इरानमाथि गरेको बमबारीको जवाफ स्वरूप आईआरजीसीले छैटौँ चरणको प्रतिकारात्मक कारबाही सञ्चालन गरिरहेको जनाएको हो ।
यसका अनुसार इजरायल र क्षेत्रभर रहेका अमेरिकी सैन्य अड्डामाथि व्यापक मिसाइल र ड्रोन आक्रमण गरिएको छ । यस क्रममा इजरायलको तेल नफ एयरबेस, तेल अवीवस्थित इजरायली सेनाको कमान्ड मुख्यालय हाकिर्या, तथा सोही सहरको ठुलो रक्षा औद्योगिक परिसरलाई पनि निशाना बनाइएको दाबी गरिएको छ ।
आगामी दिनमा पनि फरक र कडा प्रतिशोधका कदमहरू चालिने चेतावनी दिँदै आईआरजीसीले क्रमिक रूपमा थप आक्रमण हुन सक्ने सङ्केत दिएको छ । यद्यपि यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन् । प्रभावित देशहरूबाट विस्तृत आधिकारिक प्रतिक्रिया आइसकेको छैन ।
