• Monday 5th of October 2026

नेपाली आकाशमा देखिएको चम्किलो वस्तु चिनियाँ रकेट हुन सक्छ’


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपालका विभिन्न स्थानबाट आइतबार साँझ आकाशमा एक चम्किलो वस्तु देखियो। साँझ करिब ७ बजेदेखि देखिएको उक्त दृश्यको फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ।

सिन्धुली, पाँचथरदेखि सुदूरपश्चिमको कैलाली अत्तरिया लगायतका स्थानबाट समेत यो वस्तु देखिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तस्बिर राखेका छन्। उनीहरुले यसलाई उल्कापिण्ड, एलियन वा अन्य खगोलीय पिण्डको रूपमा अनुमान गरिरहेका छन्।

तर, नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले यो कुनै खगोलीय पिण्ड नभई चिनियाँ रकेट हुन सक्ने सम्भावना औंल्याएका छन्।

नागरिक न्युजसँग कुराकानी गर्दै उनले उक्त वस्तु नेपालको आकाश (स्पेस) मा नउडेको प्रस्ट पारे।

‘यो नेपालको आकाशमा उडेको होइन, उनीहरूकै लन्च साइटबाट उडेको हो। तर हामीले यहाँबाट ‘लाइन अफ साइट’ मा ३-४ सय किलोमिटर माथि हुँदा देखेका हौं,’ उनले भने।

अध्यक्ष भट्टराईका अनुसार यो दृश्य नेपालसहित भुटान, बंगलादेशका केही भाग र तिब्बतबाट पनि देखिएको हुन सक्छ। ‘यो स्पेस एक्सको रकेट होइन, लामो दूरीको पनि होइन। यो ‘रिजनल फ्लाइट’ हो र सम्भवतः चिनियाँ रकेट नै हुनुपर्छ,’ उनले थपे, ‘अपर स्टेज छुट्टिने बेलाको जस्तो दृश्य देखिएको छ। यो कुनै एलियन वा एस्ट्रोइड होइन।’

अध्यक्ष भट्टराईले भारत र अमेरिकाको कुनै लन्च नभएको र समय पनि नमिल्ने भएकाले यो चिनियाँ रकेट नै हुनसक्ने दाबी गरे। उनले थपे, ‘सामाजिक सञ्जालमा विभिन्न भिडियो र अफवाहहरू फैलिरहेका छन्। कतिपयले पुरानो भिडियोलाई जोडेर पनि भ्रम फैलाएका छन्। हामीसँग सर्भिलेन्स क्यामेरा नभएका कारण यो ट्रयाक गर्न गाह्रो भएको हो।’

साथै, उनले सय किलोमिटरमाथि पुगेपछि त्यो अन्तरिक्ष मानिने र प्राविधिक रूपमा त्यो कुनै देशको एकल स्वामित्वमा नहुने पनि प्रस्ट पारेका छन्।

यद्यपि, आधिकारिक रूपमा चीन वा अन्य कुनै निकायले यसको पुष्टि भने गरिसकेका छैनन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖