काठमाडौ । जेनजी आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीको भक्तपुरस्थित घर उच्च सुरक्षा निगरानीमा राखिएको छ।
उनले नै दिएको प्रतिवेदनका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि हुनसक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निगरानी बढाइएको हो ।
सुरक्षा स्रोतका अनुसार उक्त घर आसपास सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जिल्ला प्रहरी परिसर भक्तपुर, सादा पोशाकका प्रहरी टोली, अपराध महाशाखा तथा विशेष ब्युरोका टोली परिचालन गरिएको छ।
घर वरपर निगरानी कडा बनाइएको छ भने आवतजावतमा समेत सूक्ष्म अनुगमन भइरहेको बताइएको छ। सुरक्षा निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था सुदृढ गरिएको जनाएका छन्।
