• Friday 9th of October 2026

सरकारी वकिल कार्यालयबाट शोभा पाठकले भनिन्– ‘महेश बस्नेतलाई कारबाही गरियोस्’


  • धनकुटा खबर
  • .

काठमाडौँ । एमाले सचिव महेश बस्नेतले आफूलाई पीडित बनाएकाले पक्राउ गरेर कारबाहीको माग गर्दै शोभा पाठक आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पुगेकी छन्।

पाठकले जिल्ला प्रहरी परिसर काठमाडौँमा आफूले दर्ता गराएको जाहेरीपमा सरकारी वकिल प्रमुख रामहरि शर्मा काफ्लेले सुनुवाइ नगरेको र अभियुक्तलाई जोगाउन खोजेको आरोप लगाएकी छन् ।

पाठकका अनुसार, उनले बस्नेतविरुद्ध जबरजस्ती करणी, भ्रूण हत्या र बलात्कारलगायतका गम्भीर मुद्दामा जाहेरी दर्ता गराएकी थिइन्। उच्च अदालतको आदेशमा मुद्दा अघि बढाउन भनिए पनि सरकारी वकिलले मुद्दा अघि नबढाएको उनको गुनासो छ।

पाठकका अनुसार, उच्च अदालतले थप प्रमाणसहित मुद्दा अघि बढाउन आदेश दिएको थियो। सोहीअनुसार उनले प्रमाण पेश गर्दा पनि सरकारी वकिलले मुद्दालाई ओझेलमा पारेको उनको भनाइ छ। ‘उच्च अदालतले फैसला गरेको मुद्दामा सरकारी वकिलले फाइल अघि बढाउनुको साटो अभियुक्तलाई जोगाउन खोजेका छन्,’ उनले भनिन्।

सरकारी कार्यालय परिसरमै धर्नामा बस्ने भन्दै पाठकले आफू न्याय नपाएसम्म त्यहाँबाट नफर्किने बताइन् । उनले भनिन्, ‘म यहाँबाट जान्नँ। मलाई न्याय चाहिन्छ। म एक, दुई, तीन फर्किन्नँ। उनीहरू यहाँबाट जान सक्छन्, म जाँदिनँ।

पाठकले प्रहरी र सरकारी वकिल दुवैले आफ्नो मुद्दामा हेलचेक्र्याइँ गरेको आरोप लगाएकी छन्। प्रहरीले मुद्दा दर्ता गराएर फाइल सरकारी वकिलकहाँ पठाए पनि, त्यहाँ पुगेपछि भने फाइल अघि नबढेको उनको दाबी छ।

यस विषयमा काफ्लेको प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आएनन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖