काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । दिउँसो २ बजे सिंहदरबारको पुतली बगैँचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने बैठकमा ६ राष्ट्रिय दलका ६ सांसदले सांसदले सम्बोधन गर्ने सहमति दलहरूबिच बनेको छ ।
सङ्घीय संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले सम्बोधन गर्नेछन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन् । कांग्रेसका सभापति गगन थापासहितका शीर्ष नेता प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका र नेता बाँकी रहेकाले आङदेम्बेले सम्बोधन गर्ने तय भएको कांग्रेस नेताहरू बताउँछन् ।
दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठकमा नेकपा एमालेका तर्फबाट संसदीय दलको नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संसदीय दलको नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने तय भएको सचिवालयले जनाएको छ ।
श्रम संस्कृति पार्टीको तर्फबाट अध्यक्ष एवं सांसद हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ ।
