काठमाडौ । प्रतिनिधिसभाको पहिलो दिनको बैठकपछि संसदभित्र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच रोचक जम्काभेट भएको छ। पछिल्लो समय आपसी टिप्पणीका कारण चिसिएको मानिएको सम्बन्धबीच उनीहरूको भेट भने हार्दिकतापूर्ण देखिएको हो।
बैठक सकिएपछि संसदको सभाहलमै भेटिएका बालेन र साम्पाङले एकअर्कासँग हात मिलाउनुका साथै अंकमाल गरेका थिए। बालेनले नै अघि बढेर हर्कलाई अँगालो हालेका थिए। त्यसपछि दुवै जना सँगै करिडोरतर्फ निस्कँदै केहीबेर सँगसँगै हिँडेका थिए, जहाँ उनीहरूबीच सहज र आत्मीय संवाद भएको देखिएको थियो।
यसअघि सामाजिक सञ्जालमा हर्क साम्पाङले बालेनलाई लक्षित गर्दै पटक–पटक आलोचना गरेका कारण उनीहरूको सम्बन्ध ‘लभ एन्ड हेट’ को रूपमा व्याख्या हुँदै आएको थियो। विशेषगरी जेनजी आन्दोलनपछिका घटनाक्रम र सुकुम्बासी हटाउने विषयमा हर्कले बालेनको आलोचना गर्दै आएका थिए।
२०७९ को स्थानीय तह निर्वाचनमा दुवैले स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा विजय हासिल गरेका थिए। बालेन काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुँदा हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयर बनेका थिए। त्यसपछि उनीहरूबीच प्रारम्भिक निकटता देखिए पनि पछिल्ला घटनाक्रमले सम्बन्धमा चिसोपना ल्याएको थियो।
यद्यपि, बालेनले सार्वजनिक रूपमा हर्कप्रति सकारात्मक भाव राख्दै आएका छन्। सामाजिक सञ्जालमै उनले ‘तिमीले जति आलोचना गरे पनि माया गर्न छोड्दिनँ’ भन्दै प्रतिक्रिया दिएका थिए।
यस्ता पृष्ठभूमिबीच संसदमा भएको यो भेटले उनीहरूबीचको सम्बन्ध फेरि नजिकिने संकेत दिएको रूपमा हेरिएको छ।
