• Friday 9th of October 2026

अपरेशन सेफ्टी काठमाडौं : कांग्रेसका ‘स्याल’ देखि टिकटकर ‘किमजोङ’ को ग्याङ नै समातिए


  • धनकुटा खबर
  • .

काठमाडौं । शुक्रबार साँझ साढे ८ बजे दरबारमार्गस्थित होटल उडल्याण्डमा सञ्चालित लिक्विड लाउञ्ज बारमा सादा पोशाकका प्रहरी पुग्दा सञ्चालक सञ्जीव लामा डबल सट अमेरिकानो (कफी) पिउँदै थिए । परिचित प्रहरी सादा पोशाकमा देख्नासाथ लामाले उनका लागि पनि कफी अर्डर गरे । तर, प्रहरीले कफी पिएनन्, उनैलाई समातेर लगे ।

काठमाडौंको रात्रिकालीन व्यवसायमा ‘स्याल’ उपनामले चिनिने सञ्जीव काभ्रेबाट नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका प्रतिनिधि, अर्थात् महासमिति सदस्य पनि हुन् । उनका ‘नेता’ र व्यवसायिक अग्रज गणेश लामा हुन् । उनी कांग्रेस केन्द्रीय सदस्य छन् ।

बत्तीसपुतलीमा क्याबिन रेष्टुरेण्ट, डान्सबारहुँदै गौशाला, पुरानो बानेश्वर, ठमेल र दरबारमार्गमा त्यस्तैखाले व्यवसाय गर्नु उनको मुख्य काम थियो । त्यही काममा संलग्न व्यक्तिलाई प्रहरीले वर्षौंदेखि ‘गुण्डा’ भनेर पक्रिने र छोड्ने गर्दै आएको छ ।

प्रहरीस्रोतका अनुसार क्रिमिनल रेकर्ड सिष्टम (सीआरएस) मा उनको कुनै पनि आपराधिक अभिलेख भेटिएको छैन । तर, उनी प्रहरीद्वारा ‘अपरेशन सेफ्टी काठमाडौं’ का नाममा उपत्यकाको जनजीवन खल्बल्याएको नाममा पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा चार वर्ष कम्बोडिया बसेर केही महिनाअघि फर्किएका ३७ वर्षीय राजकुमार तामाङ पनि ‘अपरेशन सेफ्टी काठमाडौं’ का सिलसिलामा पक्राउ परेका छन् । पत्नीको निधनपछि एक्लो छोरा स्याहार्नुपर्ने कारण कम्बोडियाबाट फर्किएका थिए । फेरि वैदेशिक रोजगारीमा जान भनेर दौडधुप गर्दै थिए । मंगलबार रातिदेखि उनको परिचय बदलियो, ‘गुण्डा’ का रुपमा ।

‘किमजोङ’ उपनामले चिनिने सुरेश गुरुङहरुको अघिपछि हिँड्नुलाई ‘गुण्डा’ को मानक बनाएर उनी पक्राउ परेका हुन् । त्यसबाहेक उनका अरु कसुर नभएको प्रहरीस्रोत बताउँछ । उनी काभ्रे, पाँचखाल नगरपालिका– ४ स्थायी ठेगाना भई कपन, साँप्रेढुुंगामा बस्छन् ।

खोटाङको ऐँसेलुखर्कका स्थायी बासिन्दा किमजोङ कुनै पेशा वा रोजगारीमा छैनन् । टिकटकमा तरबार नचाउने र त्यस्तै किसिमबाट मानिसलाई आतंकित पार्ने दृश्य अपलोड गरेका कारण उनलाई पटक पटक प्रहरीले ‘सोधपुछ’ का नाममा पक्रिने गरेको थियो । उनी कपन, महाराजगञ्ज, बूढानीलकण्ठतिर युवाहरुको समूह बनाएर हिँड्डुल गर्ने क्रममा ‘खोटाङे ग्याङ’ नै बनाएका थिए ।

शुक्रबार राति उनीमात्रै पक्राउ परेनन्, उनका अघिपछि देखिने ‘खोटाङे ग्याङ’ का मानिस पनि ‘गुण्डा’ नाममा पक्राउ परेका छन् । त्यही घानमा परेका हुन्, राजकुमार तामाङ ।

‘सुरज’ नामले चिनिने सुनबहादुर तामाङ कपन, बालुवाखानीमा गिट्टी, रोडा र बालुवाको डिपो चलाउँछन् । फुर्सदको समयमा ‘खोटाङे ग्याङ’ का सदस्यहरु उनको डिपोमा पुग्ने गर्थे । उनले पनि ‘खोटाङे ग्याङ’ लाई बेलाबेलामा साँझपख खानपान गराउँथे । यो बाहेक उनका अरु कसुर छैनन् । शुक्रबारको पक्राउपछि अब उनको सार्वजनिक परिचय भयो, ‘गुण्डा’ को ।

सबै ‘गुण्डा’ नहुनसक्छन्: प्रहरी

काठमाडौंका प्रहरी प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराई पक्राउ परेका सबैलाई ‘गुण्डा’ भन्न नमिल्ने बताएका छन् । ‘अहिले आवश्यक सोधपुछ हुँदैछ, स्क्रीनिङ गरेपछि राख्नुपर्नेरछाड्नुपर्ने भन्ने निष्कर्षमा पुग्छौं’, उनले भने ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये केही आपराधिक पृष्ठभूमिका छन् । को, कुन कसुरमा आरोपित छन् भन्ने कुरा बुझिरहेको एसपी भट्टराई बताउँछन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖