काठमाडौ । गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमा लेखेको एक छोटो स्टाटसले राजनीतिक तथा सुरक्षा क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ। “३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ” भन्ने अभिव्यक्तिपछि यसको अर्थ र सन्देशबारे विभिन्न कोणबाट व्याख्या हुन थालेको हो।
उक्त स्टाटसलाई धेरैले विगतमा सुरक्षाकर्मीमाथि भएको नियन्त्रण, दबाब वा राजनीतिक हस्तक्षेपप्रति संकेतका रूपमा बुझेका छन्। लामो समयसम्म सुरक्षा निकाय स्वतन्त्र रूपमा काम गर्न नपाएको र निर्णय प्रक्रियामा बाह्य प्रभाव परेको आशय झल्किएको विश्लेषण गरिएको छ।
केहीले भने यसलाई वर्तमान सरकारको सुधार प्रयासतर्फ इङ्गित गर्ने अभिव्यक्तिका रूपमा लिएका छन्। उनीहरूका अनुसार गृहमन्त्रीले सुरक्षाकर्मीलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाउन खोजेका हुन्।
यद्यपि, गृहमन्त्री गुरुङले स्टाटसको स्पष्ट व्याख्या भने गरेका छैनन्। तर छोटो वाक्यले नै सुरक्षा प्रणाली, राजनीतिक हस्तक्षेप र सुधारको आवश्यकताबारे व्यापक छलफल सुरु गराएको छ।
