• Friday 9th of October 2026

झण्डै २८ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णयमा के छ हर्क साम्पाङकाे प्रतिक्रिया ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले झण्डै २८ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णयमा धारणा सार्वजनिक गरेका छन्।

उनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा भिडियो पाेष्ट गर्दै स्वीकार गरिएको ऋणको प्रयोजन खुलाइनुपर्ने बताए । उनले भने,‘ नेपाल सरकारले मैले बहुमत ल्याएँ भनेर यसरी चार पाँच जना मन्त्रीहरू मिलेर खुसीखुसी गर्ने हो भने देश राम्रो तरिकाले देश चल्दैन । सरकार त्यसरी चल्नु हुँदैन । हरेक कुरा सदनबाट अनुमोदन गरिनुपर्दछ ।’

‘सार्वभौम जनताको सदनमा स्वीकार गरिएको ऋण किन लिने ? के का लागि लिने,के–के शीर्षकमा कसरी र कहिलेसम्म खर्च हुने हो ? ब्रेक डाउनसहित सरकार सदनमा आउनुपर्छ, अर्थमन्त्री ज्यू आउनुहोला । अन्यथा मान्य हुनेछैन,’उनले भने ।

आफूखुसी लिइएको ऋणलाई देशको लागि लिइएको नमानिने समेत उनले बताए । विदेशी ऋण लिन नहुने मान्यता आफूहरूको रहेको समेत उनले बताए ।

अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एसियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ । त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकार गर्ने सरकारको निर्णय छ ।

हालको विनिमयदर अनुसार सबै ऋण सहयोगको कुल रकम २८ अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖