काठमाडौँ । चिनियाँ राजदूत झाङ माओमिङले चीनको विकासको प्रतिफल नेपालसँग बाँड्न चाहेको बताएका छन्।
बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपालस्थित विभिन्न देशका राजदूतहरूबिच भएको सामूहिक भेटवार्तापछि राजदूत माओमिङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।
राजदूत माओमिङले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूसँगै प्रधानमन्त्री शाहलाई भेट्न पाउँदा आफूले सम्मानित महसुस गरेको उल्लेख गरेका छन्। चीनको उच्च गुणस्तरको विकास र उच्च स्तरको खुलापनको प्रतिफल नेपाललाई बाँड्न र त्यसका लागि नेपाललाई स्वागत गर्न चीन तयार रहेको उनले स्पष्ट पारेका छन्।
दुई देशबिच गहिरिँदै गएको रणनीतिक साझेदारी र विशेषगरी विकास सहयोगबाट नेपाल र चीन दुवै देशका जनता लाभान्वित हुने चिनियाँ राजदूतले विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री बालेनले कूटनीतिक नियोगका प्रमुखहरूसँग गरेको यस सामूहिक छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।
